Public Pana
इमानपूर्वक न्याय सम्पादन गर्ने न्यायाधीश शर्माको प्रतिबद्धता

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माबारे संसदीय सुनुवाइ सुरू भएको छ ।

पहिलो सिफारिसमा निर्णय नभएपछि परिषदले दोस्रो पटक उनको नाम सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेपछि संसदीय सुनुवाइ अघि बढेको हो ।

संसदीय सुनुवाइ समितिले यसअघि नै १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो। तर उनीविरूद्ध कुनै उजुरी नपरेपछि सिधै सुनुवाइ थालिएको हो । 

शर्मा ओखलढुंगा निवासी हुन् । शर्मालाई यही भदौ १० गतेको न्यायपरिषद् बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

शर्माको नाम २०७९ भदौमाा पनि सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएको थियो । तर त्यसबेला संसदीय सुनुवाइ समितिमा पत्र पुगेर पनि सुनुवाइ रोकिँदा नियुक्ति हुन सकेको थिएन । 

त्यसबेला शर्मासहित तीनजनाको नाम सिफारिस भएको थियो । यस पटक भने शर्माको मात्रै सिफारिस भएको हो । 

संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि शर्माको नियुक्ति प्रक्रिया टुंगिनेछ। कुनै उजुरी नपरेपछि समितिले उनको नाम सर्वसम्मत अनुमोदन गर्न सक्ने सम्भावना छ । 

उनलाई त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नेछन् ।

शर्माले सुनुवाइका क्रममा नागरिकले अपेक्षा गरेको भूमिका निर्वाह गर्ने बताएका छन्। उनले इमान्दारीपूर्वक काम गर्ने बताउँदै आफ्नो अवधारणा र कार्ययोजना पनि प्रस्तुत गरेका छन् । 

उनले सुनुवाइका क्रममा वास्तविक न्यायाधीशको चरित्र उसको आचरण र व्यवहारले देखाउने बताउँदै गुणस्तरीय न्याय सम्पादनमा कटिबद्ध भएको उल्लेख गरे ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update