Public Pana


नेपाल चिकित्सक संघले हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र आवश्यक कारवाही नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । 

संघले आज बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नियमित रुपमा उपचार प्रक्रियालाई इमान्दारितापूर्वक पालना गरी अघि बढाउदा पनि चिकित्सकमाथि आक्रमण भएको भन्दै ७२ घण्टाभित्र आवश्यक कारवाही नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो । 

चिकित्सकमाथि आक्रमणका साथै पटक पटक धम्की आएको भन्दै राज्य गम्भीर हुनुपर्ने संघको भनाइ छ । 
पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा अनिल विक्रम कार्कीले चार जनालाई पक्राउ गरेपछि आवश्यक कारवाही नहुने देखिएकाले सरकारलाई अल्टिमेटम दिनुपरेको बताउनुभयो । 

उहाले अन्य अस्पतालमा बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटना सामान्य नभएको जिकिर गर्नुभयो । 

उहाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार दोषीलाई कानुनी कारबाही गर्न माग गर्नुभयो । 

आफ्ना बिषयमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई पनि जानकारी गराएको र चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने प्रतिवद्धता आएपनि विश्वस्त हुन नसकिने संघले जनाएको छ । 

भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा विकास थापा र डा प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला साङ्घातिक आक्रमण गरिएको थियो । 

डेङ्गी सङ्क्रमण भएपछि थप उपचारका लागि सञ्चो अस्पतालबाट चिकित्सकहरुले चितवन ‘रिफर’ गरिएको र उपचारका क्रममा बिरामीको यही साउन २५ गते निधन भएपछि सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update