Public Pana
कांग्रेसका जिल्ला नेता १ किलो सुन प्रकरणमा मुछिए

त्रिभुवन विमानस्थलबाट सोमवार बरामद भएको करीब १ किलो सुन तस्करी प्रकरणमा नेपाली कांग्रेसका जिल्ला नेता मुछिएका छन् ।
 

प्रहरी परिसर काठमाडौंका अनुसार विमानस्थलबाट बरामद उनको सुनको व्यवस्थापक काभ्रे प्रतिनिधिसभा– १ प्रदेश सभा (क) बाट समानुपातिक सांसदका लागि सिफारिश समेत भएका कांग्रेस जिल्ला नेता विकास लामा भन्ने विकास योञ्जन रहेको खुलेको छ ।
 

‘विकासको संलग्नता देखिएको छ,’ काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले भने । ढुंगेलका अनुसार सुनसहित ३ जना पक्राउ गरेपछि विकास गाडी फोडेर फरार भएका थिए । 
 

पक्राउ परेका ३ जनाले सम्पूर्ण व्यवस्थापन विकास नै हेर्ने गरेको बयान दिएको अनुसन्धानमा संलग्न अर्का एक प्रहरी अधिकारीले जानकारी दिए ।
 

‘प्रारम्भिक बयानका क्रममा उनीहरूले विकासले काम दिएको बताएका छन्,’ ती अधिकारीले भने ।
प्रहरीले विकासले छाडेर भागेको बागमती प्रदेश ००१ २७ च ९९६० नम्बरको क्रेटा गाडी समेत बरामद गरेको थियो । 

 

त्यो गाडीबाट कांग्रेस सांसद एवं बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिञ्चाइ मन्त्री तीर्थ लामाले विकास योञ्जनका नाममा काटेको ६ लाखको चेक समेत भेटिएको प्रहरीले जनाएको छ ।
 

दुबईबाट सुन ल्याउने कामको व्यवस्थापन विकास र लगानी तीर्थले गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको एक अनुसन्धान अधिकारीले बताए ।
 

‘व्यवस्थापक योञ्जन भन्ने कुरा बयानमा खुलिसकेको छ, तर तीर्थका विषयमा अनुसन्धान भइरहेको छ,’ अनुसन्धानमा खटिएका ती अधिकारीले भने । 
 

स्रोतका अनुसार यो टोलीले काभ्रेको महाभारत, खानीखोला, तेमाल र रोसीका युवाहरूलाई पर्यटक भिसामा दुबई पठाउने र सुन बोकाएर नेपाल फर्काउने गरेको पाइएको छ ।

‘यसरी पर्यटक भिसामा गएका युवा त्यो हैसियतका देखिँदैनन्, तर बेलाबेला गइरहन्छन्,’ उच्च स्रोतले  भन्यो, ‘तिनै युवाको मलद्वारमा सुन लुकाएर दैनिक एक किलोसम्म ल्याउने गरेको पाइएको छ ।’
 

यसपटक मलद्वारमा सुन फिट गरिदिने समूहसँग कुरा नमिलेकाले सूचना लीक भएको स्रोतको दाबी छ । 
 

प्रहरीले २५ गते बिहान साढे ९ बजे दुबईबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका काभ्रेको खानीखोला गाउँपालिका– ३ घर भई हाल पनौती नगरपालिका– ५ बस्ने २८ वर्षीय बाबुलाल दोङलाई विमानस्थल बाहिरबाट पक्राउ गरेको थियो ।
 

अर्को दिन अर्थात २६ गते काभ्रेको रोसी गाउँपालिका– ३ घट्टेखोलाका ३३ वर्षीय जगत लामा र महाभारत गाउँपालिका– ३ का ३६ वर्षीय मिङ्मा दोर्जे स्याङ्न्तानलाई पक्राउ गरिएको थियो ।
 

उनीहरूको साथबाट प्रहरीले ९६० ग्राम (करीब एक किलो) सुन, मोबाइल र बागमती प्रदेश ०२ ०३० प ८५१७ नम्बरको कालो बुलेट बाइक बरामद गरेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update