Public Pana

प्रतिनिधिसभा बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । 
 

आज बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । 
 

शोक प्रस्ताव प्रस्तुत गर्दै सभामुख घिमिरेले नेम्वाङको निधनले मुलुकलाई क्षति पुगेको बताए ।

बैठकले नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै एक मिनेट मौनधारण समेत गरिएको छ ।
 

नेम्वाङ नेकपा (एमाले) पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य थिए ।
 

उनि विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख  तथा २०६५ साल र २०७० सालको संविधान सभाको अध्यक्ष थिए । यसैगरी, २०५६ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमिति सभापति भएका स्वर्गीय नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत हुनुभएको थियो ।

संविधानसभामार्फत् नेपालको संविधान निर्माणमा उहाँको अग्रणी भूमिका रहेको थियो ।
 

प्रतिनिधिसभाको अर्को बैठक भाद्र २९ गते शुक्रबार १ बजे बोलाइएको छ । 

यसैबीच, राष्ट्रियसभाले संविधानसभा अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

बिहीबार बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

बैठकले नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

भदौ २६ गते हृदयाघातका कारण निधन भएका नेम्वाङको बिहीबार नै अन्त्येष्टि गरिएको छ ।  राष्ट्रियसभाको अर्को बैठक असोज १२ गते बोलाइएको छ ।   

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update