संविधानसभाका अध्यक्ष समेत भएका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको मृत्यु हृदयाघातका कारण भएको उनको पार्टीले बताए पनि अस्पतालले मृत्युको कारणबारे स्पष्ट खुलाइसकेको छैन ।
तर उनको निधनसँगै हृदयाघात र मुटुको हेरचाहबारे विभिन्न बहसहरू भैरहेका छन् ।
पाँच पटक प्रधानमन्त्री भइसकेका सूर्यबहादुर थापा (हाल स्वर्गीय) विसं २०६८ सालको पुस महिनामा कमलपोखरीको पूर्वतर्फ रहेको तत्कालीन राष्ट्रिय जनशक्ति पार्टीको कार्यालयमा बोल्दा बोल्दै बेहोस भए ।
पार्टी कार्यकर्ताहरूले तत्कालै डाक्टरहरूलाई फोन गर्ने क्रममा एक जना चिकित्सकले उनलाई सीपीआर दिँदै अस्पताल लगिहाल्न सुझाव दिएका थिए ।
त्यस बेला हामीलाई भनिए अनुसार पार्टीका नेता दीपक बोहराले गाडी चलाएर अर्का नेता राजेन्द्र श्रेष्ठले सीपीआर दिँदै अस्पताल पु-याउनुभएको रहेछ, हाल राष्ट्रपतिका सल्लाहकार समेत रहेका थापाका छोरा सुनिलबहादुर थापाले बताए ।
मुटु रोग सम्बन्धी जानकार चिकित्सकहरू हृदयाघात भएका मानिसहरूलाई पनि तत्कालै अस्पताल लैजान सकिए बचाउन सकिने बताउँछन् ।
हृदयाघात भएका मानिसहरूलाई अस्पताल पु¥याउनुअघि सीपीआर (छातीको मध्य भागमा हत्केलाले दम दिने) गरेर पनि केही समय बचाइएका उदाहरणहरू छन् ।
अस्पताल लैजाँदासम्म ठीक तरिकाले सीपीआर दिइरहने हो भने मुटुको चाल बन्द भइसकेका मानिसहरूलाई बचाउन सकिने केही सम्भावना रहने मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर भगवान् कोइराला बताउँछन् ।
“धेरैजसो अचानक हुने हृदयाघात जसलाई हामी सडन कार्डियाक अरेस्ट भन्छौँ। त्यसलाई आधारभूत लाइफ सपोर्ट व्यवहारमा उतार्न सकियो भने मुटु बन्दै भएका पनि उल्लेख्य मानिसहरूलाई बचाउन सकिन्छ,” कोइराला भन्छन् ।
“मैले नाम भन्न नमिल्ने एक दुई वटा उदाहरणहरू चाहिँ छन् । घरमै मुटु बन्द भएपछि सीपीआर गरेर कृत्रिम तरिकाले मुटु थिचेर बचाएर अस्पताल पु-याएर घर फर्किएकाहरू पनि छन्,” उनले भने । तर यस्तो निकै न्यून छ ।
पश्चिमा देशहरूमा धेरै हुने गरेको र उनीहरूले आम मानिसहरूलाई यसको तरिकाबारे समय समयमा प्रशिक्षण पनि दिने गरेका कारण प्रभावकारी नतिजा देखिने गरेको चिकित्सकहरू बताउँछन् ।
हृदयाघातको लक्षण देखिए के गर्ने
चिकित्सकहरूले विभिन्न उपकरणबाट मुटुको अवस्था जाँच गर्छन् ।
आफ्नो वरवर रहेका कुनै व्यक्तिमा हृदयाघातको लक्षण देखिए सीपीआर दिने तरिका र अवस्थाबारे राम्रोसँग बुझ्नुपर्ने चिकित्सकहरू बताउँछन् ।
“अचानक कसैले होस गुमायो छाम्दा नाडी छ, छैन, त्यो पनि हेर्न जानेको हुनुप¥यो। श्वास पनि फेर्दैन नाडी छाम्दा नाडी छैन भनेदेखि मुटु थिच्ने त्यसलाई हामी चेस्ट कम्प्रेसन भन्छौ सुरू तुरुन्तै ग¥यौँ भने त्यसले हानी गर्दैन देख्दा खेरि चाहिँ डरलाग्दो देखिन्छ मुटु थिचेको जस्तो,” मुटुरोग विशेषज्ञ कोइराला भन्छन् ।
“त्यसले मात्रै पनि धेरै मान्छेलाई बचाउन सक्छ।”
तर छारे रोग लागेको वा अन्य कारणले बेहोस भएको मानिसहरूलाई यसो गर्न उपयुक्त हुँदैन ।
हृदयाघातका लक्षणहरू के हुन्
चिकित्सकहरूका अनुसार हृदयाघातको लक्षण सबैलाई एउटै नहुन सक्छ ।
हृदयाघातकै लक्षण चाहिँ छातीको अघिल्लो मध्य भागमा दुखाई तर भारी भएर ढुङ्गाले थिचेको जस्तो कसैलाई श्वास फेर्न गाह्रो हुने गरी दुख्छ र कसैलाई बायाँपट्टिको भागतिर च्यापुतिर सरेर गएकोजस्तो पनि महसुस हुनसक्छ, ।
यो अत्यन्त नमज्जा लाग्ने कठिन दुखाई हुन्छ कहिलेकाहीँ ग्यास्ट्रिकले हुने दुखाइसँग पनि मिल्न जान्छ ।
तर एक औँलाले देखाउन मिल्ने खाले दुखाई साधरणतया हृदयाघातमा हुदैन ।
विशेष गरी वाकवाकी पनि भएर आउँछ, रिङ्गटा लाग्छ, पसिना आउँछ, अत्यन्त गाह्रो महसुस हुन्छ भने चाहिँ उमेर पुगेका र जोखिम भएका मानिसले तत्काल नजिकको स्वास्थ्य संस्थामा गएर इसीजीबाट वा अन्य तरिकाले जाँच गराए सुरक्षित हुन्छ । छातीको मध्य वा बायाँभागमा दुख्ने कहिलेकाहीँ दुख्ने ठाउँ बायाँ हाततर्फ सर्दै जान्छ ।
धेरैजसो ४० वर्षमाथिका व्यक्तिमा हृदय रोगको जोखिम बढी हुने भए पनि आफूले गङ्गालाल हृदय रोग केन्द्रमा काम गर्दा २० प्रतिशतजस्तो हृदयाघातका बिरामीहरू ध्रूमपान गर्ने र ४० वर्ष मुनिका छन् ।
हृदयाघातको जोखिम निम्त्याउने तत्वहरु
सुर्तीजन्य पदार्थको सेवन
उच्च रक्तचाप
मधुमेह
उच्च कोलेस्टोरल
मानसिक तनाव
बढ्दो उमेर
मोटोपना
निष्क्रिय जीवनशैली
वंशाणुगत समस्या