Public Pana
ठाउँ अभावका कारण चितवनबाट वयस्क बाघ बर्दिया लगियो

चितवन राष्ट्रिय निकुञ्जमा बाघ राख्ने ठाउँ अभाव भएको छ। निकुञ्जमा नियन्त्रणमा लिइएको बाघ ठाउँ अभाव भएपछि बाघ बर्दिया लगिएको छ ।

केही दिनअघि नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुईवटा बाघमध्ये एउटालाई बुधबार साँझ बर्दिया पठाइएको हो ।
 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासीको अमलटारी क्षेत्रमा बस्तीमा बाघ आउन थालेपछि नियन्त्रणमा लिइएको हो । 
 

एउटा बच्चा बस्तीमा आएर बस्न थालेको थियो भने अर्को बाघले गाईभैँसी खान थालेपछि स्थानीयको आग्रहमा नियन्त्रणमा लिइएको हो ।
 

मङ्गलबार नियन्त्रणमा लिएर कसरा ल्याइएको थियो। अन्दाजी १० वर्षको भाले बाघलाई हिजो बुधबार साँझ बर्दिया पठाइएको निकुञ्ज प्रशासनले जनाएको छ । यो बाघ केही समय यता बस्ती छिरेर घरपालुवा जनावर खाँदै आएको थियो ।
 

अर्को अन्दाजी सात महिनाको पोथी बाघलाई कसरामा रहेको काठको खोरमा राखिएको छ । कच्ची भएकाले ठूलो बाघ राख्न खोर उपयुक्त छैन । सानो भएकाले तत्कालका लागि सो खोरमा राखिएको उनले जानकारी दिए ।
 यो बाघ केही समयदेखि नवलपरासीको अमलटारीस्थित बस्ती क्षेत्रमा आएर बस्ने गरेको थियो ।  

 

हाल कसरामा सानोसहित चार बाघ छन्। तीमध्ये एउटा चार वर्षअघि बाँकेमा हिंस्रक बनेर मान्छेको सिकार गर्न थालेपछि नियन्त्रणमा लिएर यहाँ ल्याइएको हो । सो भाले बाघ अन्दाजी १० वर्षको छ । 
 

गत वर्ष चितवनकै माडीमा  आक्रमण गरी मान्छे मारेपछि अन्दाजी १३ वर्षको पोथी बाघ नियन्त्रणमा लिएर खोरमा राखिएको छ। अर्को देवनगरबाट तीन वर्षअघि ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।
 

तीनवटै बाघलाई कसरामा पक्की खोरमा राखिएको छ । 
सौराहामा खोरमा दुई बाघ रहेका छन्। तीमध्ये एउटा गत साउनमा खैरहनीबाट नियन्त्रणमा लिएर खोरमा राखिएको छ। उक्त भाले बाघ अन्दाजी चार वर्षको हो । अर्को गत वर्ष मेघौलीबाट ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।

 

तिवारीले अहिले चितवनमा छ बाघ खोरमा रहेको बताए । निकुञ्जको वरिपरि बस्ती भएकाले जुनसुकै बेला थप बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आउने भए पनि ठाउँको अभाव छ । 
 

पछिल्लो समय भरतपुर भ्रमण वर्ष पारेर निकुञ्ज नजिकै देवनगरमा खुला खोर निर्माण गरी सर्वसाधारणले हेर्न मिल्ने गरी बाघ राख्ने तयारी गरिएको छ । 

तिवारीले सर्वसाधारणका लागि खुला गर्नसके बाघबाट आर्थिक उपार्जन गरी उनीहरुको पालनपोषण गर्नसकेमा आर्थिक भार नपर्ने बताए ।

सन् २०२४ साललाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउन लागिएको छ।

 

 


 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update