Public Pana
सुन तस्करीको नक्कली कम्पनी


हङकङबाट सुन तस्करी गरी नेपाल भित्राउन तस्कर समूहले ७ वटा नक्कली कम्पनी खडा गरेको पाइएको छ ।
 

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को अनुसन्धानमा ७ वटा नक्कली कम्पनी खडा गरी सुन भित्राएको पाइएको हो । 
 

सिआइबीको अनुसन्धानमा टासी भन्ने थुप्तेङ छिरिङले हर्कराज राईमार्फत विभिन्न व्यक्तिका नाममा नक्कली कम्पनीहरू दर्ता गराई अन्य सामानको नाममा सुन आयात गरेको पाइएको हो । 
 

सुन तस्करी गिरोहमा संलग्न हर्कराज राईले दिलीप भुजेल, कुमार भुजेल, रामकुमार भुजेल, विकुन्द्र भुजेल, राम बहादुर भुजेल, सरिता तामाङ र लेखनाथ कार्कीको नाममा डमी कम्पनी खडा गरेको  हो । 
 

हङकङ लगायतका देशबाट आयात गरिएका सामानहरू राख्ने प्रयोजनका लागि ७ मध्ये ६ वटा कम्पनीको सटर समेत भाडामा लिई त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट प्राप्त भएको सामान राख्ने गरेको  हो । 
 

सिआइबीका अनुसार हर्कराज राईको समन्वयमा दिलीप भुजेलको नाममा रेडी ट्रेड प्रालि नामक कम्पनी स्थापना गरी बालुवाटारमा सटर लिएर राखिएको छ ।
 

त्यसैगरी कुमार भुजेलको नाममा हावडा इलेक्ट्रोनिक्स सप्लायर्स प्रालिको नाममा कम्पनी स्थापना गरी सामाखुसीमा गोदाम राखिएको थियो । 
 

त्यस्तै रामकुमार भुजेलको नाममा भुजेल इन्टरप्राइजेज प्रालि नामक कम्पनी स्थापना गरी चाबहिलमा सटर स्थापना गरिएको थियो ।

त्यस्तै बिकुन्द्र भुजेलको नाममा दोलखा इलेक्ट्रोनिक्स सप्लायर्स नामक कम्पनी स्थापना गरी लाजिम्पाटमा गोदाम स्थापना गरिएको पाइएको छ । 
 

राम बहादुर भुजेलको नाममा पवटी इलेक्ट्रोनिक्स सप्लायर्स प्रालिको नाममा कम्पनी खोलेर बाँसबारीमा गोदाम खोलेको भेटिएको छ भने लेखनाथ कार्कीको नाममा छुङ्गक इलेक्ट्रोनिक्स सप्लायर्स प्रालि नामक कम्पनी स्थापना गरेर बुढानीलकण्ठमा गोदाम स्थापना गरिएको पाइएको छ ।

सरिता तामाङको नामबाट स्थापना गरिएको सरिता सप्लायर्सले भने अहिले कुनै काम नगरेको भेटिएको सिआइबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
 

तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङको योजनामा कुनै समय भन्सार एजेन्टको सहयोगीका रूपमा काम गरेका हर्कराज राईले विभिन्न व्यक्तिहरू खोजेर उनीहरूका नाममा कम्पनी खडा गराएका थिए । कम्पनी खडा गर्ने व्यक्तिहरूलाई १५ देखि ४० हजार रुपैयाँसम्म रकम दिइएको पाइएको छ । 
 

कम्पनी स्थापना गर्दा ज–जसका नाममा स्थापना भए पनि सामान आयात गर्ने, बैङ्क खाता खोल्ने, चलाउने लगायतका काम भने सुन तस्करीमा संलग्न गिरोहहरूले नै गर्ने गरेको पाइएको छ । 
 

यो समूहले भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा संलग्न गिरोहकै सदस्यसँग काम गरेको समेत पाइएको छ । 

यो समूहका लागि चिनिया नागरिकहरू लिन, लि, चिनपेङ योङचिन, दाओजिङ वाङ, झोङ लगायतका व्यक्तिका लागि काम गर्ने गरेको अनुसन्धानबाट देखिएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update