ए किरणे ह्या आ त, का छस् ? आज मेरो मुख हेर्ने दिन हेर, खुट्टा ढोग, नुहा अनि फेरी ढोक, यो बुवाको शब्द सुन्ने वित्तिकै यता उता हेरे कहि पनि देखिन । मात्र सम्झेको पुरानो बुवाले भनेका शब्द ।
वास्तवमा भन्ने हो भने म कक्षा ३ मा पढ्दा देखिनै बुवा हामीबाटा टाढा जानुभो मात्र सम्झनामा हुनुहुन्छ । तर मेरो लागि बुवा भन्ने शब्द मस्तिष्कमा पनि भेटिदैन ।
मैले बिहे गरेर छोरी जन्मेको पनि ५ वर्ष पूरा भयो, छोरी उठ्नै वित्तिकै ह्याप्पी फादर्स डे भन्दै कागजमा लेखेको शब्द दिदै अंगालो मारिन् ।
विश्वप्रसिद्ध लेखिका तथा अधिकारकर्मी सिमोन डे बाउवोइरले ‘द वुमन डेस्ट्रोइड’ मा लेखेकी छन्– ‘बुबाहरू आफूले छोरीहरू कहिल्यै पाउँदैनन् किनकि उनीहरू छोरीहरूले पाउनुपर्ने धारणा आविष्कार गर्छन् ।
मैले मेरो बुवालाई सम्झे । जन्म दिने आमाबाबु सबैका प्रिय हुन्छन् । बुवालाई छुट्याएर आमा, आमालाई छुट्टयाएर बुवाको कुरा गर्न थालियो भने एकल हुन्छ । आमा पृथ्वी हुन् भने बुवा आकाश, आमा शिर हुन् भने बुवा शिरको सिन्दुर, आमा खुशी दिने स्रोत हुन् भने बुवा त्यसको ऊर्जा साथै उत्साह र भरोसा पनि हुन् ।
डा. गोविन्द टण्डनको यो भनाई मेरो दिमागमा सधै घुमी रहन्छ । वैशाखमा आमाको मुख हेर्ने दिनमा फेसबुकबाट आमालाई सम्झिए । बुवाको मुख हेर्ने दिन (कुशे औँसी) आज पनि विभिन्न माध्यमबाट बुवालाई सम्झनुको विकल्प छैन ।
यो वर्ष बिहिबार बुवाको मुख हेर्ने दिन परेको छ ।
आमामा मायाको संसारको भोग गरेकोले जीन्दगीमा धेरै प्रशंगमा आमा ! आमा !! आमा !!! नै आउँछ मेरो मस्तिष्कमा ।
जतिञ्जेल आमा आफ्नै अगाडि हुन्छिन्, त्यतिञ्जेलसम्म आमाको महत्वबोध कतिको लागि नहुन सक्छ ।
जब आमा संसारबाट विदा हुन्छिन् अनि माया थाहा हुन्छ ।
आमाको परिभाषा दिन सकिएला जस्तो लाग्दैन । जन्म दिने आमा र जन्मेको देश स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्ने कुरा साँचो हो ।
समाजका अन्य व्यक्तिसँग आमाको तुलना हुनै सक्दैन ।
आमाको अभावमा आमा बनेर उदारतापूर्वक माया, ममता, स्नेह दिने विशाल हृदय भएका नारीबाट कैयन् टुहुराको लालन–पालन र सेवा भएको अनेक उदाहरण यत्रतत्र देखिँदा मातृत्वको वात्सल्यमयी भाव नारीको नैसर्गिक गुण बनेर प्रस्फुटित हुन्छ । यसैले आमा शब्दले मातृशक्ति सबैलाई एकमुष्ट सम्बोधन गरेको भान हुन्छ ।
आमा एउटी मात्र हुन्छिन् । बच्चा थुप्रै हुन सक्छन् । आमा सरहको माया–ममता थुप्रैबाट पाउन सकिएला । तर आफ्नो आमाको जस्तो शर्तरहित वात्सल्य, माया, दया र प्रेम अरुबाट विरलै पाइन्छ ।
आमाले आफूलाई जन्माएपनि बुवाको साथले पृथ्वीमा बच्चाको जन्म भएको सत्य हो ।
लेखिका किरण देसाई लेख्छिन्, ‘जब बुवा परमधाम हुनुभयो, मलाई मौन कागजझैं आफू बत्तिएको आभास हुन थाल्यो । मेरा बुवा दिल्लीस्थित घरको कौसीमा नहुँदा म रित्तो भएकी थिएँ । तब मलाई लाग्न थाल्यो, उहाँबिना म पछाडि पर्दै जानेछु । हामीबीचको दुखाइबिना म बनेकी होइन ।’
क्याथोलिक धर्म अनुसार बुबालाई पुजारीको संज्ञा दिइएको छ । ‘म्यान विथ अ सन’ मा बुबालाई एक पुरुषमा परिभाषित गरिएको छ जसले एक महिलालाई गर्भधारण गराएको छ र बच्चालाई जन्म दिएको छ ।
हिन्दूत्वले बुवालाई पितृको स्थान दिएको छ । हिन्दू धर्मशास्त्रमा अनुशासन, उदाहरण, सुरक्षा, मित्रता, आध्यात्मिकता, नारीत्वको सम्मानलगायतका बुवाका नौ वटा जिम्मेवारीको वर्णन गरिएको छ ।
हाम्रो हिन्दू परम्पराले बुवालाई परिवारको खम्बा मानेको छ । सन्तानका लागि मात्र नभएर सम्पूर्ण परिवारका लागि बुवा आधारस्तम्भ हुन् । बुवाप्रतिको आड–भरोसा सन्तानका लागि जीवन बनाउने कसी हो । कुशे औँसी अर्थात् बुवाको मुख हेर्ने दिनले यसको महत्वलाई अझ चरितार्थ पार्छ ।
तर सानैदेखि म बुवाको पुच्छर हुन सकिन । छोटो समयमा साबुन उद्योग सञ्चालनमा लागेका बुवाले तीन कक्षामा म हुँदा साबुनसँगै आफू विलिन भए । कहिले सम्झिन सकिन यो मनलाई पिडा दिन चाहिन र बुवा भन्ने शब्द प्रयोग गर्न गारो भइरहन्छ ।
बुवाको आत्मविश्वासले बलियो बनाउने बेला उत्तरदायित्व दिनबाट भागेकाले अभाबभन्दा पनि केही गर्न सकेकन् र बिलाएको रुवाई मनमा रहिरहन्छ ।
हरेक वर्ष बुवाको मुख हेर्ने दिन कक्षा ३ मा पढ्दादेखि सधैका लागि गए । आँखा टिल्पिलाउँदै मायासँगै उत्साहा र भरोसा खोजिरहन्छ मेरो मनले ।
साबुन उद्योगमा व्यस्त बुवासँग बिताएका पल स्मृतिमा सम्झना हुन सकेनन्, कारण समय अभावले माया पाउन सकिएन, जिद्धी गर्न आफूले सकिएन, थाहा मात्र पाईयो बुबा विलिन भए मेरो संसारबाट ।
त्यसैले दोष प्रकट गर्दै उत्साहा र भरोसा दिन नसक्ने बुवा भनेर कसरी भनु, तैपनि वर्षमा एक पटक बुवाको मुख हेर्ने दिन भएकाले मम्मीलाई जस्तै फोटोमा बुवालाई सम्झनुको विकल्प छैन ।
मसँग सानामा भएको फोटो नै मेरो सम्झना हो । उत्साह र भरोसाका पात्र हुन सकेनन् बुवा ।
त्यसैले आकाशतिर हेर्दै भन्छु, ह्याप्पी फादरर्स डे, बुवा ।।।