Public Pana
वीरगञ्जको बाल सुधार गृहमा झडप, ११ जना घाइते

पर्साको वीरगञ्जस्थित बाल सुधार गृहमा गएराति बन्दीहरुबीच झडप हुँदा ११ जना घाइते भएका छन् । 
 

दुई पक्षबीचको झडपले सुधार गृह रातभर तनावग्रस्त भएको छ । आज बुधबार बिहानदेखि भने अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए । 

‘थप झडप नहोस् भनेर हामीले बाल सुधार गृह परिसरमा प्रहरीको सुरक्षा सतर्कता बढाएका छौँ,’ एसपी शाहले भने, ‘झडप र आक्रमणमा परेर ११ जना घाइते भएका छन्।

उनीहरुलाई राति नै नारायणी अस्पतालमा उपचारपछि हामीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेका छौँ ।’
 

हिजो मंगलबार मात्रै भक्तपुरबाट १८ जना बालक र किशोरलाई सरुवा गरेर वीरगञ्जस्थित बाल सुधार गृहमा पुर्याइएको थियो । 
 

उनीहरुलाई त्यहाँ पुर्याउनासाथ विगतदेखि नै वीरगञ्जको सुधार गृहमा रहँदै आएकाहरु (बालक र किशोर)ले बिरोध गरेका थिए । 
 

घाइते हुने ११ जना धेरैजसो भक्तपुरबाट गएकाहरु छन्। झडप नियन्त्रण गर्न गएका ३ ४ जना प्रहरी पनि घाइते भएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update