Public Pana
भारत एसिया कप फाइनलमा : श्रीलंका हार्यो

भारत एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
 

‘सुपर फोर’ चरणको हिजो मंगलबार खेलिएको महत्त्वपूर्ण खेलमा सह—आयोजक श्रीलंकालाई उसैको घरेलु मैदानमा ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको हो । 
 

टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले ४९.१ ओभरमा अलआउट हुनुअघि दुई सय १३ रन बनाएको थियो । 
 

जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली श्रीलङ्काले ४१.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रन मात्र बनाउन सक्यो । 
 

पहिले ब्याटिङ गरेको भारतका लागि ओपनर ब्याट्सम्यान रोहित शर्माले ५३ रनको योगदान गरे । 
 

कप्तान शर्माले ४८ बलको सामना गरी दुई छक्का र सात चौका हिर्काएका थिए । ३६ वर्षीय शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५१औँ अर्धशतक हो । 
 

उनले एकदिवसीय क्रिकेटको दुई सय ४१औँ पालीमा ५१औँ अर्धशतक प्रहार गरेका हुन् ।

एकदिवसीय क्रिकेटमा उनले ३० वटा शतक पनि बनाएका छन् । 
 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले १० हजार रनको कोशेढुंगा पनि पार गरेका छन् ।

एकदिवसीय क्रिकेटमा उनले बनाएको रन सङ्ख्या १० हजार ३१ पुगेको छ । 
 

यसैगरी भारतीय टोलीका लागि ओपनर शुभमन गिलले १९ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान ईशान किशनले ३३ रन बनाए । केएल राहुल ३९ रनमा

पेभेलियन फर्किए । अक्सर पटेलले २६ रनको योगदान गरे । 
 

भारतीय टोलीका लागि अन्य ब्याट्सम्यानले दोहोरो सङ्ख्यामा रन बटुल्न सकेनन् । पूर्वकप्तानसमेत रहेका प्रभावशाली ब्याट्सम्यान विराट कोहली तीन रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । भारतीय टोलीले अतिरिक्त रूपमा २१ रन पाएको थियो । 
श्रीलंकाली टोलीका बलर दुनिथ वेल्लालागे एक्लैले पाँच विकेट लिए । 

 

उनले १० ओभरमा एक मेडन राख्दै ४० रन खर्चिएका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एउटै खेलमा पहिलो पटक पाँच विकेट लिएका हुन् ।
 

चारिथ असालन्काले पनि चार विकेट हात पारे । उनले नौ ओभरमा एक मेडन राख्दै केवल १८ रन खर्चिएका थिए । 
 

अर्को एक विकेट महिस थिकसनाले लिएका थिए । 

जवाफी ब्याटिङमा ओर्लिएको श्रीलङ्काका दुवै ओपनर ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए । ओपनर पाथुम निसानका ६ रन बनाउँदै पेभेलियन फर्किए । दिमुथ करुणारत्ने पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । 
 

श्रीलंकाका लागि छैटौँ नम्बरका ब्याट्सम्यान धनञ्जय डा सिल्भाले ४१ रनको योगदान गरे । उनले उत्कृष्ट पाली खेल्दै श्रीलङ्कालाई जिततर्फ डो¥याउने प्रयास गरेका थिए । ६६ बलको सामना गरी पाँच चौका हिर्काउँदै ३७.३ ओभरमा उनी आउट भएपछि श्रीलङ्का पराजयतर्फ अग्रसर भएको थियो । 
 

धनञ्जय डा सिल्भा र आठौं नम्बरका ब्याट्सम्यान दुनिथ वेल्लालागेले टोलीका लागि ६३ रनको साझेदारी गरेका थिए । दुनिथ वेल्लालागेले पनि टोलीका लागि अविजित ४२ रनको योगदान गरे । उनले ४६ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काए । 
 

यसैगरी विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिस १५ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । चौथो नम्बरका ब्याट्सम्यान सादिरा सामराबिक्रमा पनि १७ रन बनाउँदै आउट भए । चरिथ असालंका पनि २२ रनभन्दा अगाडि बढ्न सकेनन् । कप्तान दसुन सानका नौ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । महिस थिकसना दुई रनमा आउट भए । कसुन रजिथा एक रन बनाउँदै आउट भए । 
 

भारतीय टोलीका बलर कुलदिप यादवले चार विकेट लिए । जसप्रित बुमराहले दुई विकेट लिए । रविन्द्र जडेजाले पनि दुई विकेट कुम्ल्याए । मोहम्मद सिराजले एक विकेट हात पारे । हार्दिक पाण्डेयाले एक विकेट हात पारे । 
 

‘सुपर फोर’ चरणमा सहभागी चारवटै टोलीले एकअर्कासँग एक—एक खेल खेल्नेछन् । यस आधारमा ‘सुपर फोर’ चरणमा प्रत्येक टोलीले तीन—तीन खेल खेल्नेछन् । त्यसपछि अङ्क तालिकाको सबैभन्दा माथि रहने दुईवटा टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । 
 

‘सुपर फोर’ चरणमा दुई खेल खेलेको भारतले चार अङ्क जोडेको छ । दुई खेल खेलेको श्रीलङ्का दुई अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेल खेलेको पाकिस्तानको पनि दुई अङ्क छ । हालसम्म खेलेको दुवै खेलमा पराजय भोगेको बङ्गलादेश भने उपाधि होडबाट बाहिरिइसकेको छ । 
 

‘सुपर फोर’ चरणमा अब भोली बिहीबार आयोजक पाकिस्तानले श्रीलङ्काको सामना गर्नेछ । 
 

उक्त खेलमा विजयी हुने टोली प्रतियोगिताको फाइनलमा पुग्ने दोस्रो टोली बन्नेछ । उक्त खेल वर्षाका कारण बिथोलिएमा नेट रन रेटका आधारमा फाइनलमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । 
 

पर्सी शुक्रबार भारत र बंगलादेशबीच ‘सुपर फोर’ चरणको अन्तिम खेल खेलिने छ ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update