Public Pana
मृतक सेनाका मेजर रहेको पुष्टि

भदौ १० गतेदेखि बेपत्ता रहेका डोल्पाको नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको शव मंगलबार भेरी नदीमा भेटिएको छ ।
 

त्रिपुरा सुन्दरी नगरपालिका ५ मा पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरी नदीको किनारमा मेजर पण्डित मृत फेला परेका हुन् ।

माछा मार्न जाल खेल्दै जाने क्रममा विहान ६ बजेतिर त्रिपुरासुन्दरी– ५ का परिमल भनिने शिवमल सार्कीले भेरी किनारमा लास देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खबर गरेका थिए ।
 

दुई ढुङ्गाको खोल्सामा ठूलो ज्यान भएको बायाँ हातमा घडी र दायाँ हातको कान्छी औँलामा औँठी देखेपछि आफूले बेपत्ता मेजर हुनकी भनेर जाल खेल्न छाडेको र तत्काल चौकीमा गएर खबर गरेको शिवमल सार्कीले बताए ।
 

खदाङ्ग प्रहरीले जिल्ला प्रहरी कार्यालयमा खबर गरे लगत्तै उद्धार सामग्रीसहित नेपाली सेनाको टोली चिण्ढेबगरमा पुगेको थियो ।

टोलीले शव बाहिर निकालेर सम्पूर्ण तरिकाबाट हेर्दा र हातमा लगाएको घडी र औँठीबाट मृतक मेजर नै भएको पुष्टि भएको घटनास्थलमा पुगेका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।
 

शव पहिचानको लागि मेजर पण्डितका दाजु कुमार पण्डित पनि घटनास्थलमा पुगेका थिए ।

 

प्रत्यक्षदर्शी लगायत स्थानीयहरूसमेतको उपस्थितिमा मुचुल्का उठाई पोस्टमार्टमको लागि शव जिल्ला अस्पताल दुनैमा लगिने पनि बुढाथोकीले बताए ।
 

काठमाडौं कागेश्वरी मनोहरास्थित डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित १६ दिनदेखि बेपत्ता रहेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update