Public Pana
श्रीलंकाको स्पिन सामु चलेन भारतको ब्याटिङ

युवा स्पिनर दुनिथ वेलालागे र चरिथ असलंकाको उत्कृष्ट बलिङसँगै भारतले एसिया कपको सुपर फोर खेलमा घरेलु टोली श्रीलंकाविरुद्ध मध्यम ब्याटिङ प्रदर्शन गरेको छ । 
 

कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ४७ ओभरमा ९ विकेट गुमाउँदै १ सय ९७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो ।
 

खेल शुरु हुँदा अक्षर पटेल १५ र मोहम्मद शिराज २ रनमा क्रिजमा छन् ।
भारतका कप्तान रोहित शर्माले ४८ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५३ रनको योगदान दिए । रोहित बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

 

भारतलाई ओपनर शुभमन गिल र रोहित शर्माले ११.१ ओभरमा ८० रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर श्रीलंकाको स्पिन आक्रामण आगमनसँगै भारतले लगातार विकेट गुमाउन पुगेको थियो ।
 

दुनिथले आफ्नो पहिलो बलमै शुभमन गिललाई १९ रनमा बोल्ड गर्दै श्रीलंकालाई पहिलो सफलता दिलाए । भारतका शीर्ष चार विकेट नै उनले लिँदै श्रीलंकालाई खेलमा हाबी बनाएका थिए ।
 

दुनिथले १४ औं ओभरको पाँचौं बलमा विराट कोहलीलाई ३ रनमा दासुन शानकाबाट क्याच आउट गराए । अघिल्लो दिन मात्रै पाकिस्तानविरुद्ध १ सय २२ रनको शतकीय इनिङ खेलेका कोहली मिडअनमा समातिन पुगेका थिए ।
 

१६ औं ओभरको पहिलो बलमा उनले रोहित शर्मालाई बोल्ड गर्दै महत्वपूर्ण सफलता दिलाएका थिए । लोकेश राहुललाई दुनीथले ३९ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए । राहुलले ४४ बलमा २ चौका प्रहार गरे ।
 

उनले ३६ औं ओभरको अन्तिम बलमा हार्दिक पान्ड्यालाई विकेटकिपर कुशल मेन्डिसबाट पाँच रनमा क्याच आउट गराउँदै पाँच विकेट पूरा गरे । अम्पायरले आउट नदिएपनि श्रीलंकाले रिभ्यु लिँदै हार्दिकलाई पेभेलिएन फर्काएको थियो ।
 

उता पार्ट टाइम स्पिनर असंलकाले पनि सानदार प्रदर्शन गरे । असंलकाको ३५ औं ओभरको दोस्रो बलमा ईशान किशन ३३ रनमा क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाए । ईशानले ६१ बलमा १ चौका र १ छक्का प्रहार गरे । दुनीथले एक्स्ट्रा कभरमा सानदार क्याच लिएका थिए । असलंकाले रविन्द्र जडेजालाई ४ रनमै क्याच आउट गराए ।
 

असंलाकाले जस्प्रित बुमराहलाई ५ रनमा बोल्ड आउट गरे । बुमराहलाई आउट गरेको अर्को बलमा कुलदीप यादव स्लिपमा शून्यमा क्याच आउट भए ।

एक समय भारत २९.५ ओभरमा १५४–३ को बलियो अवस्थामा थियो । तर श्रीलंकाको स्पिन सामु मध्यक्रम र तल्लोक्रम ब्याटिङ सम्हाल्लिन सकेन ।

भारतले सोमबार मात्रै पाकिस्तानविरुद्ध ३ सय ५६ रन बनाएको थियो । कुलदीप यादवले ५ विकेट लिएपछि भारत २ सय २८ रनले विजयी भएको थियो ।

श्रीलंकाका २० वर्षीय युवा स्पिनर दुनीथ वेलालागेले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ५ विकेट लिए ।

चरिथ असलंकाले ९ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिएका छन् । अर्का स्पिनर धनन्जय डि सिल्भाले १० ओभरमा मात्रै २८ रन खर्चेर दबाब बढाए ।

khel--1694526835.jpg

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update