Public Pana
डोल्पामा भेटियो शव

डोल्पामा आज मंगलबार एक जनाको शव फेला परेको छ ।
 

उक्त शव  १६ दिनदेखि हराइरहेका डोल्पाका गुल्मपति बिमल पण्डितको हुन सक्ने आशंका गरिएको छ । 
 

शव  त्रिपुरासुन्दरी नगरपालिकामै पर्ने खदाङ भन्ने ठाउँमा भेटिएको जिल्ला प्रशहासन कार्यालयले जनाएको छ ।
 

मंगलबार बिहानै स्थानीयले शव फेला परेको जानकारी दिएका थिए ।
नन्दबक्स गुल्मका गुल्मपति पण्डित गत भदौ १० गते अपराह्न ४ः५५ बजेदेखि सम्पर्कविहीन भएका थिए ।


उनी ब्यारेकबाट स्थानीय जिप भाडामा लिएर त्रिपुराकोट गएको खुलेको छ । जिल्ला प्रहरी प्रमुख बुढाथोकीका अनुसार उनले नगेन्द्र बस्नेतले चलाउँदै आएको बोलेरो भाडामा लिएका थिए ।


सेनानी पण्डितसँग त्यस गाडीलाई भाडा तिर्न नगद साथमा नभएको खुलेको छ । उनले चालक बस्नेतलाई ‘खाता नम्बर छ, अनलाइन पे गर्दिन्छु’ भनेका रहेछन् ।

चालकसँग बैंकको खाता नम्बर नभएकाले गाडीबाट ओर्लिएर तीन–चार वटा पसलेसँग डिजिटल भुक्तानीबारे सोधेका थिए । पसलेहरूले नभएको बताएपछि चालकले साहुसँग भेटाइदिएको अनुसन्धानबाट देखिएको छ ।


त्यसपछि सेनानी पण्डितले २६ हजार ५ सय रुपैयाँ खातामार्फत् ट्रान्सफर गरेको र आफूले नगद लिएका थिए । लिएको नगदमध्ये ६ हजार ५ सय गाडी भाडाबापत् भुक्तानी गरेका थिए ।


गाडीबाट ओर्लिएर एउटा पसलमा चप्पल, झोला बोकेर सम्पर्कविहीन भएको अनुसन्धानमा देखिएको प्रशासनले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update