Public Pana

काठमाडौँको टोखाबाट नुवाकोटको शिवपुरीसम्मको ‘टोखा छहरे सुरुङमार्ग’ सरकारको राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनाका रुपमा अघि बढाइने भएको छ ।

टोखा छहरे सुरुङमार्गलाई राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनाका रुपमा अघि बढाउनका लागि सुरुङमार्गको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सुरु गर्न अर्थमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोलगायतले स्थलगत अवलोकन एवं निरीक्षण गरेका छन् ।
सुरुङमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा रु एक अर्ब २५ करोड विनियोजन गरिएको र बाँकी स्रोतको व्यवस्थापनका लागि जतिसक्दो छिटो इआइए सुरु गर्न निरीक्षण गरिएको अर्थमन्त्री डा महतले बताए ।

उनले सुरुङमार्ग निर्माण अघि बढिसकेकाले कामलाई तीव्र बनाउन देखापर्ने समस्या समाधान गर्न संयुक्तरुपमा लागेको धारणा राखे ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले थोरै लगानी र छोटो समयमा नै निर्माण गर्न सक्ने गरेर प्रारम्भिक अध्ययनमा देखिएकाले निर्माण सुरु गर्ने तयारी गरिएको बताए ।

सुरुङ निर्माण गर्न काठमाडौँतर्फ टोखा नगरपालिका वडा नं १ झोरमा दुईवटा बिन्दुको पहिचान गरिएको र  नुवाकोटतर्फ शिवपुरी गाउँपालिका वडा नं ७ र ८ मा तीनवटा बिन्दु सम्भावित देखिएको उनले उल्लेख गरे ।

त्यस्तै वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले आयोजना निर्माणबाट वनजङ्गल तथा निकुञ्जलाई दीर्घकालीन जोखिम नपर्ने देखिएकाले काम अघि बढाउन कानुनी समस्या नहुने बताए ।

टोखा छहरे सुरुङमार्ग तीन दशमलव तीन, तीन दशमलव छ र चार दशमलव दुई किलोमिटर लम्बाइको हुनसक्ने अध्ययनमा देखिएको छ ।

सुरुङमार्ग निर्माणले नुवाकोटबाट काठमाडौँ जानका लागि करिब १२ किमी सडक छोटो हुने बताईएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update