Public Pana
नेम्वाङको निधनले मर्माहत र स्तब्ध छु :  उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनको खबरले आफू अत्यन्तै मर्माहत र स्तब्ध रहेको बताएका छन् ।

आज मंगलबार शोक सन्देश सार्वजनिक गर्नुहुँदै उपराष्ट्रपति यादवले यस्तो बताएका हुन् । उनले  संसद् र संविधान सभाको दोहोरो भूमिका भएको सभामा उहाँले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको सम्झना गरेका हुन् ।

शोक सन्देशमा उपराष्ट्रपति यादवले भनेका छन्, ‘‘दुवै संविधानसभा (२०६४ र २०७०) का अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनको खबरले अत्यन्तै मर्माहत र स्तब्ध छु।

संसद् र संविधान सभाको दोहोरो भूमिका भएको सभामा उहाँले आफ्नो दोहोरा जिम्मेवारी अत्यन्तै कुशलताका साथ निर्वाह गर्नुभएको थियो ।’’ 

सहमति, सहकार्य र एकताको लागि सधैँ जोड दिने नेताको रूपमा आफूले उहाँलाई सम्झिएको उपराष्ट्रपति यादवले उल्लेख गरेका छन्, ‘‘सहमति, सहकार्य र एकताको विकल्प नभएको भन्दै राजनीतिक दललाई सहमतिका लागि सधैँ घचघच्याई रहने व्यक्तित्वका रूपमा उहाँलाई स्मरण गर्दछु’’, शोक सन्देशमा थप भन्नुभएको छ, ‘‘सन्तुलित भूमिका, सहमतिको पक्षधर र कानुन तथा संविधानको जानकार भएको नेताका रूपमा उहाँले आफूलाई स्थापित गर्नुभएको थियो।’’ 

मुलुकले भद्र, शालीन, मृदुभाषी र मिलनसार नेता गुमाएको उनले बताए । ‘‘पूर्व सभामुख तथा इलाम–२ बाट प्रतिनिधि सभाका सदस्यसमेत रहनुभएका उहाँको अकल्पनीय निधनले मुलुकले एकजना भद्र, शालीन, मृदृभाषी र मिलनसार नेता गुमाएको छ’’, शोक विज्ञप्तिमा थप भनिएको छ। 

उनले नेम्वाङको योगदान स्मरणीय रहने भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन्,‘‘नेपालको संविधान निर्माणका क्रममा उहाँले पु-याउनु भएको योगदान सधैँ स्मरणीय रहने छ, उहाँप्रति हार्दिक श्रद्धाञ्जली र मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु’’, शोक विज्ञप्तिमा भनिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update