Public Pana
एसिया कपमा चम्केका आशिफ शेख परे युवती काण्डमा

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आशिफ शेखविरुद्ध आफूमाथि बलात्कार गरेको आरोपमा एक युवतीको कालिमाटी प्रहरी चौकीको नाममा भएको निवेदन अहिले सामाजिक सन्जालमा चर्चामा छ ।

निवेदनमा शेखले आफूसँग असुरक्षित यौनसम्बन्ध राखी महिनौंसम्म मानसिक तनाव दिएको युवतीले उल्लेख गरेकी छन् । 
सम्बन्धपश्चात शेख सम्पर्कविहीन बन्दा महिनावारी रोकिएका कारण आफूले तनाव झेल्नु परेको उनको दाबी छ ।

काठमाडौं प्रहरी परिसका उपरीक्षक कुमुद ढुंगेलकाअनुसार अहिलेसम्म युवतीका तर्फबाट प्रहरीमा कुनै पनि निवेदन आएको छैन ।

यद्यपि सामाजिक सन्जालमा आइतबार बाहिरिएको सो निवेदनबाट ती युवतीलाई प्रहरीले सम्पर्क गरेको उनको भनाइ छ ।
ढुंगेलले भने, ‘प्रहरीले ती युवतीलाई सम्पर्क गरेर प्रहरीमा दर्ता नगरेको निवेदन कसरी सार्वजनिक भयो बुझेको थियो । उहाँ आज निवेदन लिएर प्रहरीकहाँ आउनुहुन्छ होला ।’

निवदेन आएको अवस्थामा तत्काल आवश्यक कदम लिने प्रहरीको भनाइ छ ।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले पनि शेखलाई लिएर कुनै औपचारिक जानकारी नआएको जनाएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘सामाजिक सन्जालमै निवेदन देखिएको हो । निवेदनबारे हामीलाई कुनै औपचारिक जानकारी छैन ।’ 

शेख नेपाली टोलीका ओपनर ब्याटर हुन् ।

जारी एसिया कपमा उनले भारतविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update