Public Pana
एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

असन्तुष्ट पक्षले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाइ बर्खास्तीको माग गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

एन्फामा ८६ जना सदस्य रहेकोमा ४९ जना सदस्यले हस्ताक्षर गरेर प्रस्ताव दर्ता गराएका छन् ।

कुल सदस्यको ४० प्रतिशतले अविश्वासको प्रस्ताव दर्ता गराउन सक्ने र दुई तिहाइ बहुमतले अविश्वासको प्रस्ताव पारित गर्नुपर्ने हुन्छ ।

अविश्वासको प्रस्ताव दर्ता भएसँगै अध्यक्ष र महासचिव स्वतः बर्खास्तीमा परेको असन्तुष्ट पक्षको दाबी छ ।

अहिलेकै अवस्था रहेमा नेपाली फुटबल समाप्त हुने चिन्ताका कारण अविश्वासको प्रस्ताव दर्ता गराएको उनीहरूले बताएका छन् ।
 

अविश्वासको प्रस्ताव दर्ता भएकै कारण आज सोमवारका लागि तोकिएको साधारणसभा अनिश्चित बनेको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update