Public Pana
मुगुमा पनि पुग्यो राष्ट्रिय प्रसारणको विद्युत् अब एउटा जिल्ला पुगे नेपालभर उज्यालो

कर्णालीको मुगु पनि विद्युत्को राष्ट्रिय प्रणाली (ग्रिड) मा जोडिएको छ ।  

नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरेर मुगु सदरमुकाम गमगढीसम्म पु-याएको हो ।

प्राधिकरणले आइतबारबाट गमगढी लगायत क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन सुरु गरेको छ । 
 

प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगढी साना जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरुमा विद्युत आपूर्ति गर्दै आएको थियो । 

मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ ।
 

अब कर्णाली प्रदेशको हुम्ला मात्रै राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ । 

हुम्लामा राष्ट्रिय प्रसारण लाइनमा ठेक्का सम्झौता सकिएर सर्भे भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत् समय समय बन्द हुँदा मुगुमा हुने विद्युत् आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान हुने बताए । 

उनले राष्ट्रिय प्रसारण लाइन पुगेकाले विद्युतीकरण तिब्र रुपमा अगाडि बढाइने बताए ।
अहिले मुगुमा प्राधिकरणका ३ हजार ५ सय घरधुरी ग्राहक छन् ।

गत वर्षको असोजको भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द भएको थियो ।  

प्राधिकरणले तत्कालै डिजेल जेनेरेटर जडान गरी विद्युत् आपूर्ति दिएको थियो । 
 

भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युतगृहको ११०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति गरेको थियो । 

मुगुको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३–११ केभी सवस्टेशन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति भइरहेको प्राधिकरणले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update