Public Pana
नेपाल–म्यानमार आज दोस्रोपटक भिड्दै

फिफा विश्वकपअन्तर्गत पहिलो चरण छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा आज सोमबार म्यानमारसँग खेल्दै छ । 
 

खेल यंगोनस्थित थुउन्ना स्टेडियममा नेपाली समयानुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ ।  
पहिलो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको नेपाल आजको खेलमा म्यानमारलाई घरेलु मैदानमा हराउन चाहन्छ।

उता म्यानमार पनि नेपालविरुद्ध जित हासिल गर्न चाहन्छ । 
पहिलो खेलमा अञ्जन विष्ट पेनाल्टीमा चुक्दा नेपाली टोलीले जितको सुन्दर अवसर गुमाउन पुग्यो । 

 

पहिलो खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले दुई खेलाडीलाई राष्ट्रिय टोलीमा डेब्यु दिएका थिए । 
 

त्रिभुवन आर्मी फुटबल क्लबका जिलेस्पीजंग कार्कीले सुरुवाती रोजाइमा स्थान बनाउँदै डेब्यु गरे।

दोस्रो हाफमा जावलाखेल युथ क्लबका हिसुव थपलियाले अञ्जन विष्टको स्थान लिदै डेब्यु गरेका थिए । 
 

राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका डिफेन्डर छिरिङ लामा, आशिष गुरुङ र अन्जन राई, मिडफिल्डर उत्सव राई, फरवार्ड दिनेश हेन्जनसँगै यसअघि नै टोलीमा स्थान बनाइसकेका अभिषेक बराल र कृतिशरत्न छुन्जुले डेब्यु गर्न बाँकी छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update