Public Pana

११औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२३ भदौ २७ देखि काठमाडौंमा हुने भएको छ । 

नेपाल तेक्वान्दो सङ्घले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गदै नेपालस्थित दक्षिण कोरियाली दूतावास र सङ्घको संयुक्त आयोजना हुने प्रतियोगिता भाद्र ३१ गतेसम्म सञ्चालन हुने जनाएको हो । 

प्रतियोगितामा सात सय ११ महिला र एक हजार ६७ पुरुष गरी कुल एक हजार सात सय ७८ जना सिनियर तथा जुनियर खेलाडी सहभागी हुने तेक्वान्दो सङ्घका उपाध्यक्ष तथा प्रतियोगिता आयोजक समितिका संयोजक भानबहादुर चन्दले जानकारी दिनुभयो । 


उहाँका अनुसार पुम्सेतर्फ २५ र ग्यरोगी (फाइट) तर्फ ३२ गरी जम्मा ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । 


यसअघि नेपाली खेलाडीमात्र भाग लिने यस प्रतियोगितामा पहिलो पटक भारत र बङ्गलादेशका खेलाडीले सहभागिता जनाउने चन्दले बताउनुभयो । 

त्यस्तै भारतबाट ३५ र बङ्गलादेशबाट ३३ खेलाडीले भाग लिने सङ्घले जनाएको छ ।उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु ३५ लाख खर्च लाग्ने आयोजकको भनाइ छ । 


प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई कोरियामा आयोजना हुने विश्व कोरियन एम्बासडर प्रतियोगितामा सहभागी गराइने आयोजक सङ्घले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update