Public Pana
सुन तस्करी प्रकरण : बिमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलो बढी सुन तस्करी प्रकरणमा विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारी पक्राउ परेका छन् । 

पक्राउ पर्ने भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बा वीरेन्द्र नेपाली र कमल परियार रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले गएको साउन ३ गते सिनामङ्गल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या ३० पुगेको छ ।

यसअघि आफुहरुलाई प्रहरीले जुनसुकै बेला पक्राउ गर्न सक्ने डरले विभास्थल भन्सारका कर्मचारीले सामुहिक सरुवाको माग गर्दै महानिर्देशकलाई पत्र बुझाएका थिए ।

सचिवलाई समेत बोदार्थ पठाई उक्त सरुवा माग गरिएको थियो । प्रहरी उच्च स्रोतका अनुसार यसअघि पक्राउ परेकाहरुबाट सोधपुछ गर्ने क्रममा यी तीन कर्मचारीको संलग्नता पनि देखिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

शनिवार पक्राउ परेकाहरुबाट अनुसन्धानको दायरा थप फराकिलो हुन सक्ने प्रहरीले जनाएको छ । भन्सार विभागका कर्मचारी पक्राउ परेपछि यति बेला त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी वृतमा भूकम्प गएजस्तै भएको छ ।

प्रहरी अनुसन्धानमा आफुहरु जतिवेला पनि पक्राउ पर्न सक्ने भएपछि उनीहरुले आफ्नो पहुँच पुग्ने उपल्लो तहसम्म हारगुहार गरिरहको विभानस्थल भन्सार स्रोतले जनाएको छ । 

 

 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update