Public Pana
विश्वका शक्तिशाली देशको शिखर सम्मेलन भारतमा शुरु हुँदै

विश्वका शक्तिशाली देशको शिखर सम्मेलन भारतमा केही बेरमा शुरु हुने भएको छ ।
 

भारतको  राजधानी नयाँ दिल्लीमा केहिबेरमा शुरु हुने जी ट्वान्टी सम्मेलनमा रुस–युक्रेन युद्धको विषयमा जी–२० का सदस्य राष्ट्रहरूबीच एकै खालको धारणा आउनसक्ने संकेत फेला परेको छ ।
 

आयोजक तथा अध्यक्ष देश भारतले भने घोषणापत्र तयार पारेकाले निर्णायकमा एक जुट हुने संकेत देखिएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
घोषणपत्र समावेशी, महत्वाकांक्षी र धेरै दृष्टिकोणबाट निर्णायक हुने तथा घोषणापत्र वैश्विक दक्षिण(ग्लोबल साउथ) र विकासशील देशहरुको आवाज बोल्ने आयोजक भारतले जनाएको छ । 

 

जी–२० बैठकमा अमेरिका, यूरोपियन युनियनसहितका देशहरु रुस युक्रेनको युद्धको सन्दर्भ उठाएर जी–२० को मञ्चबाट रुसलाई घेर्न खोजेका छन् ।
 

तर, रुस र चीन त्यसको विरोधमा छ । भारत पनि रुसको विरोधमा जी–२० को मञ्चलाई प्रयोग हुन नदिने मनसाय देखाउँदै आएको छ ।

जी–२० का हरेक सदस्यसँग भिटो पावर रहेको भन्दै भारतीय अधिकारी कान्तले हरेक मुद्दामा सबै देशलाई सर्वसम्मत गराउनु चुनौतिपूर्ण रहेकोले हरेक एक देशलाई एकमत बनाउन र एकसाथ ल्याउन प्रयास गरिएको छ । 
 

मुख्य रुपमा युद्धकै विषयमा कायम विमतिहरूले साझा वक्तव्य नआउने हो कि भन्ने आशंकाहरु गरिएको हो । रुस र चीनका राष्ट्रपति दिल्लीको शिखर सम्मेलनमा आएका छैनन् ।

अध्यक्षराष्ट्र भारतको प्रस्तावमा जी–२० मा अफ्रिकी संघलाई सामेल गराउने विषयमा सहमति जुटिसकेको छ । भारतको प्रस्तावमा सबै सदस्यहरुले समर्थन जनाइसकेको र त्यसले सम्मेलनबाट औपचारिक रुप लिने बताइएको छ ।
 

भारतले शिखर सम्मेलनका क्रममा ’वसुधैव कुटुम्बकम’ अर्थात विश्व एक परिवार हो भन्ने सन्देश जी–२० सम्मेलन मार्फत दिन चाहेको कान्तले बताए । यद्यपि भारतको यस नारालाई लिएर चीनले असन्तुष्टि जनाएको छ ।
 

जी–२० का सदस्य राष्ट्रका प्रमुखहरु दिल्ली आउने क्रम छ । आज शनिबार र आइतबार (सेप्टेम्बर ९ र १०) का दिन विश्वभरका शक्तिशाली नेताहरु दिल्लीमा रहने छन् । इटलीका प्रधानमन्त्री जांर्जियो मेलोनी, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, जापानका प्रधानमन्त्री फुमियो किशिदा, अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नाडिज, अमेरिकाका राष्ट्पति जो बाइडेन दिल्ली आइपुगेका छन् ।
 

शिखर सम्मेलन हुने प्रगति मैदानमा अत्याधुनिक र व्यस्थित अन्तर्राष्ट्रिय मिडिया सेन्टर बनाइएको छ । जहाँबाट विश्वभरबाट र भारत भित्रैबाट गरी ३ हजार पत्रकारले समाचार सम्प्रेषणको अनुमति पाएका छन् ।
 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update