Public Pana
मदन भण्डारी फाउन्डेसन र चीनको छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेजबीच सहमति

चीनको प्रमुख शहर छोङछिङस्थित छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेज र मदन भण्डारी फाउन्डेसनबीच शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमूलक अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।
 

शैक्षिक विकासका लागि तालिम केन्द्र स्थापना, अध्ययन र प्राविधिक कार्यक्रम परियोजना सञ्चालन गर्न पाँच बुँदे सम्झौता भएको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।
 

सम्झौतामा फाउन्डेसनका तर्फबाट अखिल नेपाल महिला सङ्घको अध्यक्षसमेत रहेकी फाउन्डेसनको केन्द्रीय सदस्य टुका हमाल र छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेजका तर्फबाट प्रमुख लि जीओ कुअङले हस्ताक्षर गरेका छन् ।
 

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा रहेका नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियाजुनबीच भएको भेटवार्तामा एकअर्कामा अनुभव, सीप, विचार र ज्ञानलाई आदानप्रदान गर्ने विषयमा कुराकानी भएको थियो ।
 

त्यही क्रममा महासचिव पोखरेलले छोङछिङले आफ्नो आधुनिकीकरणका क्रममा आर्जन गरेको ज्ञान, सीप र विकास गरेको प्रविधि नेपालसँग आदानप्रदानको प्रस्ताव राखेका थिए ।
 

महासचिव पोखरेलको सोही प्रस्तावको पहिलो कार्यान्वयन सुरुआतअन्तर्गत छोङछिङ थ्रि ग्रर्जेज भोकेशनल कलेज र मदन भण्डारी फाउन्डेसन शैक्षिक क्षेत्रको अध्ययन र अनुसन्धानमा काम गर्ने गरी सहमति भएको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
 

उक्त सहमति नेपालको शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमूलक अनुसन्धानका लागि महत्त्वपूर्ण रहेको प्रमुख गौतमको भनाइ छ । गौतमले भने, ’छोङछिङको विकासमा उहाँहरूले आर्जन गर्नुभएको अनुभव, ज्ञान र विकास गर्नुभएको प्रविधिलाई नेपालको विकासमा प्रयोगको लागि यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’
 

सहमतिअनुसार कलेजको सहयोगमा ग्रामीण पुनःस्थापनाका लागि शैक्षिक विकास, वैज्ञानिक अनुसन्धान र अध्ययन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ ।
यसैगरी नेपाली विद्यार्थी, शिक्षक र अनुसन्धानकर्तालाई छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेजले अध्ययन र अनुसन्धानका लागि सहयोग गर्नेछ ।

 

सहमतिअनुसार ‘चीन नेपाल जोइन्ट रिसर्च सेन्टर फर पिपुल टु पिपुल एक्सचेन्ज’ स्थापनामार्फत जनता जनताबीचमा प्राज्ञिक आदानप्रदान कार्यक्रम सञ्चालन गनिनेछ ।
 

यसैबीच फाउण्डेशनपनि पार्टीबादी भएको आरोप लाग्न थालेको छ । एमालेका नेता गएका बेला फाउण्डेशनसँग अन्तराष्ट्रिय सम्बन्ध प्रत्यक्ष नबढाएको आरोप समेत मदन भण्डारी फाउण्डेशनमा रहेको आशंका गरिएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update