Public Pana

सरकारले अमेरिकाबाट चीन जाँदा प्रधानमन्त्रीको भ्रमणको प्रभावकारीतामा कुनै असर नपर्ने स्पष्ट पारेको छ । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने प्रधानमन्त्रीको कार्यक्रम तय भएको भन्दै त्यसका कारण चीन भ्रमणमा कुनै असर नपर्ने बताउनुभएको हो । उहाले भ्रमणको उदेश्य पुरा गर्ने मुख्य बिषय भएको र अन्य बिषय प्रावधिकमात्रै भएको जिकिर गर्नुभयो ।

प्रवक्ता शर्माले चीन भ्रमणको एजेण्डा तयार गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । भ्रमणका क्रममा दुईपक्षीय बिषयका साथै कतिपय बिषय ध्यानाकर्षणका रुपमा लैजाने तयारी भएको उहाले बताउनुभयो ।

त्यस्तै उहाले कांग्रेस नेता महेन्द्र यादवमाथि भएको आक्रमण उचित नभएको भन्दै घटनाको अनुसन्धानपछि रिपोर्ट सार्वजनिक गरिने जानकारी दिनुभयो । 

त्यस्तै मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले उद्योग मन्त्रालयमातहत अधिकृतस्तरका ३० पदको अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

चीनमा भाद्र २६ देखि २९ सम्म आयोजना हुने नेपाल चीन संयुक्त व्यापार कार्यदलको बैठकमा सहभागी हुन सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा ५ सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने, न्याय सेवा आयोगको सिफारिसमा सहसचिव फणीन्द्र गौतमलाई न्याय सवाको राजपत्राङ्कित बिशिष्ठ श्रेणीमा बढुवा गरि सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको उहाले बताउनुभयो ।

त्यस्तै बैठकले सञ्चार मन्त्रालय अन्तर्गतका लागि कुल ३१ अधिकृतस्तरका अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । 

मन्त्रिपरिषद्ले न्याय सेवा आयोगको सिफारिसबमोजिम नेपाल न्याय सेवा राजपत्राङ्कित बिशिष्ट श्रेणीका तीन सचिवहरुको सरुवा गर्ने निर्णय पनि गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update