Public Pana
कोशी प्रदेशमा आजै मुख्यमन्त्री नियुक्तिको तयारी 

कोशी प्रदेशमा आजै शुक्रबार नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ ।

सर्वोच्च अदालतको आदेश प्राप्त हुनासाथ नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको कार्यालयको तयारी भएको हो । 

सर्वोच्चले हिजो बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

अदालतको पत्र प्राप्त हुनसाथ मुख्यमन्त्री नियुक्ति गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । ‘सर्वोच्चको फैसलाको पत्र प्राप्त भएको छैन,’ प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

फैसला आउनसाथ प्रदेश प्रमुख परशुराम खापुङले आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी भएकाले फैसला कुरेर बसेको अवस्गामा प्रदेश प्रमुख कार्यालय छ । 

सर्वोच्चले यसअघिका मुख्यमन्त्री थापाले लिएको विश्वासको मतलाई बदर गरिदिएको थियो । थापा पदमुक्त भएसँगै संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा कार्की दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् । 

एमाले संसदीय दलका नेता कार्कीले प्रदेश प्रमुखको कार्यालयबाट अहिलेसम्म कुनै जानकारी नआएको बताए । उनी एमाले मोरङको पार्टी कार्यालयमा प्रदेश प्रमुखको कार्यालयको पत्र कुरेर बसिरहेका छन् ।  

यसअघि कोशी प्रदेश सरकारको चौथो मुख्यमन्त्रीको रूपमा २०७९ पुस २४ गते नियुक्त भएका कार्की १७४ दिनमा हटेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update