Public Pana
यार्सा गुम्बा संकलन गर्न नयाँ नियम लागु

हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सा गुम्बाको संरक्षण, संकलन एवं सदुपयोग गर्ने कार्यालाई सरल र व्यवस्थित बनाउन सरकारले नयाँ नियम ल्याएको छ । 

जस अन्तर्गत यार्सा गुम्बा संकलन गर्ने व्यक्ति १६ वर्ष कटेको हुनुपर्ने र वर्षमा एक पटक मात्रै इजाजत दिइने व्यवस्था छ । 
वन तथा वातावरण मन्त्रालयले हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा यार्सा गुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका, २०८० ल्याएर व्यवस्थित बनाउन लागेको हो। मन्त्रालयले प्रस्तावित निर्देशिकाको मस्यौदामा राय-सुझाव मागेको छ । 

मस्यौदामा यार्सा गुम्बा संकलनका लागि १६ वर्ष उमेर पार गरेका हुनुपर्ने प्रस्ताव गरेको छ। यार्सा गुम्बा ओसारपसार गर्न चाहने व्यक्ति, फर्म वा कम्पनीले रीतपूर्वक सम्बन्धित कार्यालयमा निवेदन दिनुपर्नेछ ।

प्राप्त निवेदन उपर संरक्षक, प्रमुख वा परिषद्को अध्यक्षले दफा ३ को उपदफा (२) बमोजिम प्राप्त संकलन इजाजतपत्रसँग भिडान गरी संकलनको गरेको परिमाण जाँची प्रचलित कानुन बमोजिम दस्तुर लिई सम्बन्धित व्यक्ति, फर्म वा कम्पनीलाई यार्सा गुम्बा ओसारपसार गर्न छोडपूर्जी दिन सक्नेछ ।

छोड पूर्जीको अवधि बढीमा ३० दिनको हुनेछ। कुनै कारणवस उक्त अवधिमा ओसारपसार गर्न नसकेमा बढीमा १५ दिन म्याद थप्न सकिने उल्लेख छ। यार्सा गुम्बा संकलन अवधि प्रत्येक बैशाखदेखि असार महिनाभित्र बढीमा ३० दिनको हुनेछ ।

संरक्षक, प्रमुख वा परिषद्को अध्यक्षको लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले संकलन क्षेत्रमा तोकिएको स्थान बाहेक अन्यत्र टेण्ट वा पाल राख्न पाउदैन।

४० माइक्रोनभन्दा कमको प्लाष्टिकजन्य वस्तु लैजान वा प्रयोग गर्न पाइदैन ।

तोकिएका बाहेक अन्य औजार लैजान पाइदैन। जथाभावी फोहोर फाल्न, आगो बाल्न र खाल्टो खन्न पाइने छैन ।

yarsa gumba1694158097.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update