Public Pana
६० किलो सुन तस्करी प्रकरण : बाराका एक सुनचाँदी व्यवसायी पक्राउ

६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

प्रकरणको अनुसन्धानका क्रममा बाराका सुनचाँदी व्यवसायी शिवकुमार सरार्फलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । 

हिजो बिहीबार राति उनलाई बाराबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुँवेर कडायतले जानकारी दिए । उनका अनुसार योसँगै ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।

गत साउन २ गते त्रिभुवन विमानस्थल भन्सार पास भएर बाहिरिएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

हङकङबाट आएको उक्त सुनसम्बन्धी प्रारम्भिक अनुसन्धान गरेर विभागले बाँकी अनुसन्धान सीआईबीलाई सुम्पिएको थियो ।

२ गते पक्राउ परेका व्यक्तिलाई समेत ३ गते मात्र पक्राउ पुर्जी दिइएकाले त्यसको ६० दिन अर्थात् अर्को शुक्रवारभित्र अदालतमा मुद्दा दायर भइसक्नुपर्छ । 

सरकारी वकिललाई मुद्दा अभियोजनको तयारीका लागि समेत समय लाग्ने भएकाले सीआईलाई अनुसन्धान सक्न अब ४/५ दिनको मात्र समय बाँकी छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update