Public Pana
आजको हारसँगै विश्वकप छनोट खेल्ने नेपालको सपना अधुरै

आईसीसी टी–२० महिला विश्वकप एसिया क्षेत्र छनोटमा थाइल्यान्डसँग हारेसँगै नेपालको ग्लोबल छनोट खेल्ने सपना यो पटक पनि पूरा हुन सकेन । 

आज शुक्रबार भएको पहिलो सेमिफाइलमा थाइल्यान्डसँग ४६ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको ग्लोबल छनोट खेल्ने योजनमा धक्का पुगेको हो । सन् २०१३ देखि भइरहेको ग्लोबल छनोटमा नेपालले अहिलेसम्म पुग्न सकेको छैन । 

समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले अपराजित रुपमा सेमिफाइलमा स्थान बनाएको थियो । 
 

आजको खेलमा बलियो टोली थाइल्यान्डलाई पराजित गरेको भए नेपाल पहिलो पटक ग्लोबल छनोटमा पुग्ने थियो । 

थाइल्यान्डविरुद्ध खराब ब्याटिङ गरेको नेपाल ३ बल अगावै ५९ रनमा अलआउट भयो । 
निकै खराब सुरुवात गरेको नेपालले दोस्रो ओभरमा नै तिन विकेट गुमाउँदा मात्र ३ रन बनाएको थियो । 

 

तिन खेलाडीले दोहोरो अंकको स्कोर छोए । तिन खेलाडी शुन्य रनमा आउट भए । 
 

कविता कुँवरले बनाएको अविजित १७ रन नै नेपालमा लागि सर्वाधिक रह्यो । 

ओपनर काजल श्रेष्ठ शुन्य र सिता रानामगर ४ रनमा क्याच आउट भए। इन्दु बर्मा ३ रनमा क्याच आउट भईन्। २ बलको सामना गरेकी कप्तान रुविना क्षेत्री शुन्य रनमा नै एलबीडब्लु धरापमा पर्दै पवेलियन फर्किईन्। ४ बल खेलेकी विन्दु रावल शुन्य रनमा नै एलबीडब्लु धरापमा परिन् । 

२८ बल खेलेकी कविता जोशीले एक चौका मद्दतमा १० रन बनाईन्। २७ बलको सामना गरेकी अप्तसी बेगमले १ चौका हान्दै १० रन बनाउँदा क्याच आउट भईन् । 

पुजा महतो ४ रनमा क्याच आउट भईन् । अस्मिना कर्माचार्य ३ र खुसी डंगोल १ रनमा आउट भए । 
 

त्यसअघि मलेसियाको बांगीमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ५ रनको योगफल तयार पारेको थियो ।  

नेपालकी कविता कुवँरले ४ ओभरमा १ मेडन राख्दै १७ रन दिएर १ विकेट लिईन् । कविता जोसीले ३ ओभरमा १२ र इन्दु वर्माले २ ओभरमा १५ रन खर्चिए । 

रुविना क्षत्रीले ४ ओभरमा २१ रन दिदा पुजा महतोले ३ ओभरमा २० रन दिएर १ विकेट आफ्नो नाममा गरिन् । सिता राना मगर र खुसी डंगोलले समान २ ओभरमा १० रन दिए । 

दोस्रो विकेटका लागि ओपनर नन्नपत कोन्चरोएनकाई र नटाङकन चनतमले ६८ रनको साझेदारी गरेका थिए । 
४५ बलमा २ चौका प्रहार गरेकी नटाङकन ३१ रन बनाउदा पुजा महतोको बलमा काजल श्रेष्ठको हातबाट क्याच आउट भईन् । 

नेपालले पहिलो विकेटका रुपमा ओपनर सुवानन खियाओटोलाई २ रनमा कविता कुवँरको बलमा कप्तान रुविना क्षत्रीको हातबाट क्याच आउट गराएको थियो । 

नन्नपत ५९ र चनिदा सुचिरुङ ११ रनमा नटआउट रहे । नन्नपतले ६३ बलमा चार चौका प्रहार गरिन् । 
नेपाललाई हराउँदै थाइल्यान्डले फाइनलमा स्थान बनाएसँगै ग्लोबल छनोटमा समेत स्थान सुरक्षित गरेको  छ ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update