Public Pana

प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा सांसदहरुले समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा  सरकारको ध्यानाकर्षण गराएका छन् । 
 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू स्वास्थ्यमन्त्री हुँदैखेरि कसैले पनि उपचार अभावमा ज्यान गुमाउनुनपरोस् भनेर मापदणड बनाइए पनि अझै लापरबाही भइरहेको बताए ।
 

उनले उपचार अभावमा बालिकाको ज्यान जाने जस्तो गम्भीर घटनामा सरकारले जवाफ दिनुपर्ने माग गरेका छन् । 
 

नेकपा (एमाले) का सचेतक महेश बर्ताैलाले बैठकमा समय लिएर बोल्दै मकवानपुरको थाहा नगरपालिका–१० जीतबहादुर गोपालीकी छोरी पाँच वर्षीया रेजिशा गोपालीको निधन अस्पतालको लापरबाहीका कारण भएको बताए । 
 

उनले घटनाको छानबिन र दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन माग गरेका छन्। सबै बालबालिकालाई सहजरुपमा उपचारको उचित प्रबन्ध गराउन माग पनि उनले गरे । 
 

राष्ट्रिय स्वतन्त्र पार्टीका डा. चन्दा कार्की भण्डारीले बालिकाको निधन दुःखद् भएको बताउँदै सरकारी अस्पतालको भौतिक पूर्वाधार विस्तारमा लगानी नगरेकोमा आपत्ति जनाइन् ।

सांसदहरुले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गर्दै सुरक्षाको प्रत्याभूति गराउन माग गरेका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको सुरुमै उनीहरुले उक्त घटनाको छानविन गर्न समेत माग गरेका छन् । 

 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update