Public Pana
कोशी प्रदेशका मुख्यमन्त्री विरुद्धको रिटमा आज निवेदकका तर्फबाट जवाफी बहस हुने

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक तवरले विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा परेको रिट उपर आज जवाफी बहस हुँदै छ । 

एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा निवेदकका तर्फबाट सोमबार बहस भएको थियो ।


अस्ति मंगलबार विपक्षीका तर्फबाट बहस सकिएकाले आज रिट निवेदकको तर्फबाट जवाफी बहसपछि फैसला आउने अनुमान गरिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल, डा।कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबारबाट रिट उपर सुनुवाइ भइरहेको छ ।

कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्कीले भदौ ६ गते कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभाको अध्यक्षता गर्ने इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिनालाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।

भदौ ४ गते प्रदेश सभाको बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत विभाजन सकिएर मत सच्याउने समय समेत अन्त्य भइसकेपछि मतदान गरेका थिए ।

९३ सदस्य रहेको प्रदेश सभाको बहुमत ४७ पु-याउन ४७ सिट आवश्यक पर्दछ । सभाको अध्यक्षता गरेका मन्सुरीले मतदान गरेपछि उनै मन्सुरीले थापाले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए ।

एमाले नेता कार्कीले सो कार्य गैर संवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा भदौ ६ गते रिट दायर गरेका हुन् ।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update