Public Pana
एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण विजयी

नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी भएका छन् ।
 

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षका अर्का उम्मेदवार प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै कंडेल विजयी भएका हुन् ।
 

विजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका हुन् ।
अध्यक्षमा विजयी कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन् भने रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् ।

 

सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि उनीहरु प्यानलसहित चुनावमा प्रतिस्पर्धा गरेका थिए । 
 

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मतसहित विजयी हुँदा रुपन्देहीकै विश्वराज बराल ३०६ मत पाएर पराजित भए ।
 

खुल्ला उपसचिवमा रोल्पाका पूर्णबहादुर बुढामगर ४१८ मत पाएर विजयी भएका छन् । उनी शंकर पोखरेल निकटका हरि रिजालको प्यानलबाट उम्मेदवार बनेका थिए । कंडेल प्यानलका अर्का प्रत्यासी दुर्गाबहादुर चौधरी ३९३ मत पाएर पराजित भए ।
महिला उपसचिवमा लिला राना ३५२ मत पाएर विजयी हुँदा प्रतिस्पर्धी बसन्ती अधिकारीले ३५१ मत पाएर पराजित भइन् ।

 

पदाधिकारीमा एक उपसचिव पूर्ण बुढामगरबाहेक अरु सबै राधाकृष्ण कंडेलकै प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । सचिवमा निर्विरोध निर्वाचित लक्ष्मण आचार्य हुन् ।
 

यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । 
 

एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ४० जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् । भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।
 

भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो ।

५ पदाधिकारी र १५ जना खुल्ला सदस्य सहित प्रदेश कमिटी २०५ सदस्यीय रहेको छ ।


 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update