Public Pana
विदेश पुगेर नेपाली नागरिकता त्यागेका नेपालीहरुले पनि पाउने नागरिकता

विदेश पुगेर नेपाली नागरिकता त्यागेका नेपालीहरुले पनि अब नेपाली नागरिकता पाउने भएका छन् । 
 

अर्थात् गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेका हो । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित गरेकाले एनआरएनले पनि नागरिकता पाउने बाटो खुलेको गृहमन्त्रालयले जनाएको छ ।
 

नागरिकता सम्बन्धी संधोधित ऐन गत जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पनि नियमावली बनेको थिएन । तर एक साता अघि अर्थात् भदौ १२ गते बसेको मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेकोले अब सहज भएको हो नागरिता पाउन ।
नियमावली पास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सक्रियता र जोडबल रहेको बुझिएको छ ।

 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क भ्रमणमा गएको बेला त्यहाँ रहेका एनआरएनहरुलाई नयाँ सन्देश दिने चाहनाले नागरिकता सम्बन्धी नियमावली पारित गर्न प्रधानमन्त्रीको विशेष जोड रहेको हो ।
 

यो नागरिकता लिएपछि नेपालमा लगानी गर्न, सम्पत्ति राख्न लगायतका काम गर्न गैरआवासीय नेपाली नागरिकलाई सजिलो हुने छ ।

यो नागरिकता लिएपछि राजनीति गर्न र भोट हाल्न पाइने छैन भने सरकारी जागिर खान वा नियुक्ति खान पाइने छैन ।
 

मुख्यत अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा लगायतका देशमा गई काम गरेर ती देशको नागरिकता लिइसकेका नेपाली मूलका नागरिकलाई नेपालमा सीप र लगानी भित्राउन कानुनी अडचन भएको भन्दै गैरआवासीय नेपाली नागरिकता दिन माग गरेका थिए । 
 

उनिहरुले राजनीतिक अधिकार नचाहिने, केवल आर्थिक र सांस्कृतिक अधिकार भएको नागरिकताको आवश्यकता माग गरेका थिए ।
 

नागरिकता पाएपछि उनीहरुलाई आम नेपाली नागरिक सरह नेपालमा हरेक व्यवसायमा लगानी गर्ने र सम्पत्ति राख्ने सुविधा प्राप्त हुने छ ।
 

कोही विदेशमा रहेका गैर आवासियहरुलाई अब सहज भएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update