Public Pana
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ई–लाईब्रेरी सेवा सुरु

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्चविद्यालय केन्द्रीय पुस्तकालयबीच सोही प्रतिष्ठानमा ई–लाईब्रेरी सेवा सुरु भएको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले सोमबार आयोजित कार्यक्रममा ई–लाईब्रेरी औपचारिक रूपमा सुरु गर्दै ई–लाईब्रेरी सेवामा उपलब्ध ई–स्रोतहरुको उपयोग गर्ने विधिको नमुना समेत प्रदर्शन गरेका थिए ।
 

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले सेवा संचालनले प्रहरीमा अध्ययन संस्कृतिको विकास हुने विश्चास व्यक्त गर्दै यसबाट प्रशिक्षण प्रदायक संस्थाहरूमा अध्ययन, अध्यापन तथा अन्वेषण कार्यको साथै प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको सिकाईको स्तर, चेतना र व्यक्तित्व विकासमा टेवा पुग्ने बताए । 
 

प्रहरी कर्मचारीहरुलाई दक्ष, व्यवसायिक र समय सापेक्ष रूपमा उत्कृष्ट बनाउने सन्दर्भमा प्रशिक्षण प्रदायक कार्यालयहरुको महत्त्वमाथि चर्चा गर्दै उहाँले प्राप्त ज्ञानको आदान प्रदानले वौद्धिक प्रहरी जनशक्ति उत्पादनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका निमित्त प्रमुख सागर सुवेदीले नेपाल प्रहरीसँग सहकार्य गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्णलाई ई–स्रोतहरुको अधिक्तम प्रयोग गर्न आग्रह गरे ।
 

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले रिमोट एक्सेस सुविधा सहित व्यवस्था गरेको ई–लाईब्रेरीमा लाखौंको संख्यामा अध्ययन सामग्रीहरू रहेका छन् । 
 

विश्वविद्यालयले खरिद गरेको EBSCO HOST, PROQUEST Databaseमा ई–पुस्तक, शोधपत्र तथा जर्नलहरू प्रयोग गर्न सकिनेछ । 
 

यस सेवाका माध्यमबाट अन्तर्राष्ट्रिय संघसंस्था, नेशनल लाईब्रेरी अफ ईन्डिया र एशियन डेभलभमेन्ट बैंकका स्रोतहरू एवम् अध्ययन अध्यापनका लागि सहयोगी हुने निस्शुल्क डाटावेशहरू पनि प्रयोग योग्य रहेको उक्त अवसरमा जानकारी दिईयो ।
 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update