Public Pana
अमेरिकी प्रथम महिलालाई फेरि कोरोना सङ्क्रमण

अमेरिकी प्रथम महिला जिल बाइडेन पुनः कोभिड–१९ बाट सङ्क्रमित भएकी छिन् । नियमित स्वास्थ्य परीक्षणका क्रममा सोमबार उनी कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएको हो ।

राष्ट्रपति जो बाइडेनको प्रयोगशाला परीक्षण प्रतिवेदन भने नकारात्मक आएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
 

बहत्तर वर्षीया प्रथम महिलालाई कोरोनाका सामान्य लक्षणमात्र देखिएको जनाउँदै राष्ट्रपतिको कार्यालयले उनी डेलावेयरको रेहोबोथ समुद्री किनारको घरको आइलेसनमा बस्नेछिन् ।

एक वर्षअघि पनि प्रथम महिला बाइडेनलाई कोभिड सङ्क्रमण भएको थियो ।

कोभिड परीक्षणलाई नियमितरूपमा जारी राख्ने र लक्षणहरूको निगरानी गरिने राष्ट्रपतिको कार्यालयले बताएको छ ।
पछिल्ला केही साता यता संयुक्त राज्य अमेरिकामा कोरोना सङ्क्रमण बढेको छ भने बिरामीको अस्पताल भर्नादरमा पनि वृद्धि भएको छ । 


यसैबीच एनबिसी न्युजले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दैै देशमा फेरि कोभिडको अर्को लहर आएको सङ्केत गरेको छ ।

बितेका दुई सातामा औसत दैनिक १० हजार पाँच जना सङ्क्रमित अस्पताल आएका तथा एक हजार तीन सय ९७ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपरेको छ ।

 
कोभिड–१९ बाट दैनिकरुपमा पाँच सय सात जना बालबालिका पनि पीडित भइरहेका छन् । अमेरिकी अधिकारीहरूले कोरोनाविरुद्धको खोप लगाउन सर्वसाधारणमा आग्रह पनि गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update