
भदौ २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नाङ्गो गाउँ फिल्मलाई दीपेन्द्र लामाले लेखन एवं निर्देशन गरेका हुन् ।
निर्देशकसहित कलाकारद्वयले हालैको एक मध्याह्न मिडियाकर्मीसँग फिल्मबारे अन्तरक्रिया गरे ।
सो क्रममा बोल्दै निर्देशक दीपेन्द्रले राजनीतिक पृष्ठभूमिमा केन्द्रित रहेर निर्माण गरिएको फिल्मले खराब नेता चुन्ने जनतामाथि प्रश्न गर्ने बताए ।
फिल्मको नामलाई लिएर कथावस्तुबारे अनेक अनुमान हुने गरेको छ । कतिपयले गाउँमा मान्छे नै छैनन् भन्ने खालको कथा फिल्मले बोल्ने होलाजस्तो अनुमान गरेका छन् ।
‘गाउँबाट युवा विदेशिएका छन् भन्ने खालको अथवा गाउँमा कुनै उब्जनी नहुने होला त्यसैले नाङ्गो गाउँ भनिएको होला भन्नेजस्तो अनुमान धेरैले गर्नुभएको छ । तर, विम्बात्मक रूपमा ‘नाङ्गो गाउँ’ नामकरण गरिएको हो,’ दीपेन्द्रले प्रस्ट्याए ।
फिल्मको कन्टेन्टले दर्शकलाई केही न केही सोच्न बाध्य बनाओस् वा सोच्ने प्रेरणा देओस् भन्ने आफूलाई लाग्ने उनले बताए ।
अभिनेता दयाहाङ राईले अहिलेको समाजको राजनीतिक चेत, राजनीतिले समाजमा पारेको प्रभावको विषयमा फिल्म बनेको बताए ।
पछिल्लो समय राजनीतिक विषयवस्तुमाथि बनिरहेका फिल्मभन्दा ‘नाङ्गो गाउँ’ फरक रहेको उनको दाबी छ ।