Public Pana

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालले छिमेकी देशहरुसँग सन्तुलन कायम गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
 

मंगलवार निजामती कर्मचारी युनियनको स्थापना दिवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।
 

उनले एक देशले अर्को देशसँग साथी बनाउन सक्ने तर छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने उल्लेख गरे । 
 

देउवाले नेपालसँग विद्युत किन्ने भनेको भारत मात्रै भएकाले नेपालले की विद्युत नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरुमा सहमति जनाउनुपर्ने बाध्यता रहेको समेत दाबी गरे । 
 

उनले सरकार र कर्मचारीबीच एक आपसमा मिलेर मात्रै देश विकास गर्न सकिने भन्दै मन्त्रीले भनेपछि कर्मचारीले मान्नै पर्ने धारणा राखे । 
 

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले मन्त्रीहरू आउने जाने हुन् भनेर हेपेपछि आफूले प्रहरी अधिकृतलाई हटाइदिएको समेत जानकारी दिए ।

कार्यक्रममा नेता डा. शेखर कोइरालाले कांग्रेसले नेतृत्व गरेका मन्त्रालयहरुमा लोकतान्त्रिक विधिलाई पाखा लगाइयो भन्ने कुरा आइरहेको भन्दै पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएर सचेत गराउन सभापति देउवालाई सुझाव दिए ।
 

उनले संघीय निजामती सेवा ऐनमा पार्टीबाट सुझाव दिनका लागि सहमहामन्त्री जीवन परियारको नेतृत्वमा एउटा छुट्टै समिति बनाउन पनि आग्रह गरे ।
 

त्यस्तै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको अराजक खालको पछिल्लो अभिव्यक्तिबाट देश चल्न नसक्ने बताए ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update