Public Pana

गाईजात्राको भोलिपल्टदेखि सुरु भएको भक्तपुरको मध्यपुर थिमिको भैरव नाच अर्थात भैलः प्याखको प्रदर्शन मंगलबार सम्पन्न भएको छ । 
 

प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि चार रात प्रदर्शन हुने मल्लकालीन यो नाच थिमिको ऐतिहासिक नाच मानिन्छ । मौलिक एवं पौराणिक महत्व बोकेको प्राचीन भैरव नाच भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चार दिन मध्यपुर थिमि नगरको टोल टोलमा प्रदर्शन गरिन्छ ।
 

भैल प्याँख प्रदर्शनका लागि अनिवार्य रूपमा विभिन्न शास्त्रीय तथा तान्त्रिक विधि पूरागर्नुपर्ने स्थानीय संस्कृतिविद्हरुको भनाइ छ । मध्यपुर थिमि क्षेत्रमा तीन ठाउँबाट भैरव नाच निकाल्ने परम्परा छ ।
 

दाग, भुस्या, पोंगा र मुहालीलगायत मौलिक नेवारी बाजाको तालमा भैलः प्याखका देवगणहरू नाच्दै नाच्दै नगर परिक्रमा गर्छन ।
 

थिमिमा राक्षस, भूतप्रेतले दुःख दिएका कारण भैरवको साधना गरेर भैरव नाच निकाल्ने किम्वदन्ती रहेको छ । भैरव नाच ५ जनाले नाच्ने गरेको र नाचमा २ भैरवसहित कुमारी, महालक्ष्मी र हरिसिद्धिको नाँच देखाइने गरेको भैरव नाचका नृत्य गुरु विष्णुबहादुर प्रजापतिले जानकारी दिए ।
 

उनले ऐतिहासिक नाचलाई जोगाइराख्न युवा पिढीले चासोँ राख्नुपर्नेमा जोड दिए । 
 

थिमिको लायकूबाट निकाल्ने लायकू भैल भनिन्छ भने थिमिकै तुलननी र नासननीबाट निकाल्ने नाचलाई थिमी भैल भनिन्छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update