Public Pana
टेरामोस लागू गराउन कार्यबिधि बनाउँदै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले विवादमा परेको टेरामोसलाई नेपालका टेलिकम अपरेटरहरुको सिस्टममा जोड्नका लागि कार्यबिधि बनाउन शुरु गरेको छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले शुरुवातदेखि नै विवादित रहेको टेरामोस वा टेरामोक्स समेत भनिने सिस्टम जडान गर्न नेपाली टेलिकम अपरेटरहरुलाई निकै दबाब दिँदै आएको छ ।

यसै सिलसिलामा प्राधिकरणले नेपालका दुई अपरेटरहरुलाई बोलाएरै कार्यबिधि बनाउन लागिएको भन्दै टेरामोस जडानमा सहयोग गर्न भनेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै विवादको केन्द्रमा रहेको टेरामोस लागू नहुने भनिसकेको र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत सो सिस्टम तत्काल लागू नगर्न भनेको अवस्थामा प्राधिकरणले भने आफ्नो तजबिजी अधिकारमार्फत कार्यबिधि बनाउन शुरु गरेको हो ।

उक्त कार्यबिधि ल्याएसँगै टेरामोस जडानमा सहज हुने प्राधिकरण उच्च अधिकारीहरुको बुझाई रहेको भन्दै अपरेटरहरुलाई दबाब दिने उद्देश्यले काम भईरहेको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

“टेरामोस अहिलेको अवस्थामा लगाउन नसकिने अवस्था देखिएपछि प्राधिकरण नेतृत्व जसरी पनि त्यसलाई लागू गराउने तयारीमा छ, ‘प्राधिकरणका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने, “कार्यबिधि तयार पार्न उनीहरुलाई पनि सहभागी गराउने र सहभागीता भएको आधारमा त्यसैअनुसार लागू गराउने योजना छ ।”

यसैबीच प्रधानमन्त्री र सञ्चार तथा सूचना प्रवधि मन्त्रालयले टेरामोस जडान हाल रोक्ने निर्देशन दिएकोले प्राधिकरण नेतृत्वले सो निर्देशनलाई बाईपास गरेको भन्दै मन्त्रालयले रोस व्यक्त गरेको छ ।
NTA-Building-Jamal_1691021993.jpg

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update