Public Pana
बाढीबाट क्षति भएको कागबेनी पुगे गृहमन्त्री

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका(कागबेनी) बाढीबाट भएको क्षतिको मंगलबार स्थलगत अवलोकन गरेका छन् । 

अविरल वर्षासँगै साउन २८ गतेको स्थानीय कागखोलाको बाढीले ठूलो  क्षति पु¥याएको तीन सातापछि गृहमन्त्री अवलोकनका लागि पुगेका हुन् । 

बाढीले घर, कृषि उपज, सार्वजनिक एवम् व्यापारिक संरचना, होटल, पुल, विद्यालय, प्रहरी चौकी, पशुपंक्षी, सवारीसाधन, गुम्बा, कागबेनी श्रद्धास्थल, खानेपानी, सिँचाइ र नगद तथा अन्य भौतिक वस्तुसहित अर्बौंको क्षति गरेको  थियो । 

गृहमन्त्रीले त्यहाँ पुगेर तत्काल राहतमा वृद्धि र कागबेनी जस्तो ऐतिहासिक तिर्थस्थलको दीर्घकालीन पुनर्निर्माणको प्रतिबद्धता समेत जनाएका छन् । 

क्षतिको अवलोकनपछि प्रभावितसहित जनप्रतिनिधि र स्थानीय प्रशासनलाई संक्षिप्त सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले तत्कालीन प्राथमिक आवश्यकलाई समाधान गर्दै प्राविधिक र योजनावीद् अध्ययन आधारित निष्कर्ष निकालेर कागबेनीको पुनर्निर्माण गरिने, रणनीतिक रुपले व्यवस्थित बस्ती बसाइने बताए ।

त्यसक्रममा उनले खानेपानी, गुणस्तरीय खाद्यवस्तु र बसोबासमा कुनै कमजोरी हुन नदिन समेत स्थानीय प्रशासनलाई निर्देशन दिए ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update