
कलिउड तथा बलिउड अभिनेत्री मनीषा कोइरालाले काठमाडौंमा तीन दिनसम्म सञ्चालन भएको साहित्य महोत्सवमा बिताइन् ।
ललितपुरमा भएको महोत्सवका २ सेसनमा उनी आफैं सहभागी भइन् । भारतको बनारसमा बाल्यकाल बिताएकी मनीषाले आफ्नो जीवनका धेरै कुरा नेपाली दर्शकमाझा साझा गरिन् ।
मनीषाका कुरा सुनेर दर्शक कहिले भावुक हुन्थे त कहिले मुस्कुराउँथे ।
सूर्य नेपाल कलिङ साहित्य महोत्सवको अन्तिम दिन मनीषाले ‘नेपाली रुट्स टु ग्लोबल स्टारडम’ शीर्षक आफ्ना कुरा राखिन् । मञ्चमा रहेकी मनीषालाई दर्शकले सोधे, ‘बच्चा एडप्ट गरेरै भए पनि आमा बनुँ भन्ने लाग्दैन?’
यो प्रश्नसँग मनीषा आफैँ पनि भावुक भइन् । मनीषाले दिएको जवाफमा दर्शक दीर्घामा रहेका कतिपयका आँखा रसाए ।
उनले भनिन्, ‘मन त लाग्छ । तर अब त उमेरले पनि मलाई निक्कै पर धकेलिसक्यो । अर्को क्यान्सर लागेर बल्ल रिकभर भएँ । मेरै जीवनको के भर छ र? बच्चा असाध्यै मन पराउँछु । सोचिरहेकी छु, यो काम गरुँ की नगरुँ ।’
जीवनमा धेरै अप्ठ्याराहरु आउँछन् । तर त्यो भन्दा बलियो हामी हुनुपर्छ । मलाई क्यान्सर हुँदा मैले यही सिकेँ। तिमी घाँस काट्ने काम गरेपनि सबैभन्दा राम्रो घाँस काट्ने बन भनेर मलाई सुशीला आमाले भन्नुभएको थियो । काम सानो ठूलो हुँदैन । जे गरे पनि मनले गर्नुपर्छ ।
पछिल्लो समयमा मेरो मनले सन्तानको निकै इच्छा गरिरहेको छ । म क्यान्सर भइसकेको मान्छे। मेरो उमेर पनि गइसक्यो। म ५४ वर्षकी भएँ। उमेर र रोगका कारण सन्तान बनाउन मलाई मेरो मनले रोकिरहेको छ ।