Public Pana
नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशकलाई स्पष्टीकरण

पटक–पटक बढुवा प्रक्रिया स्थगित गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयमाथि आपत्ति जनाएका सहायक निर्देशक विजयकुमार राय यादवलाई स्पष्टीकरण सोधिएको छ ।
 

दनियत राखेर बढुवा हुन नदिएको आरोप कर्मचारीले लगाइरहँदा प्राधिकरणले यादवलाई स्पष्टीकरण सोधेको हो ।
 

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यादवको वक्तव्य कर्मचारी विनियमावलीविपरीत भएको भन्दै सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएका हुन् ।
 

यादवले प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्ना आफन्त नपरेपछि बढुवा प्रक्रिया स्थगित गरेको आरोप लगाएका थिए ।
 

विनियमावलीमा प्राधिकरणको नीतिविपरीत मिडियालाई खबर दिन र रेडियो वा टेलिभिजनबाट वक्तव्य प्रसारित गर्न रोक लगाएको स्पष्टीकरणको पत्रमा उल्लेख छ ।
 

प्राधिकरणमा कर्मचारी बढुवाको विषयलाई लिएर व्यवस्थापन र कर्मचारीबीच विवाद छ ।

उच्च अदालत पाटनले बढुवा प्रक्रिया अगाडि बढाउन आदेश दिए पनि प्राधिकरणले बढुवा प्रक्रिया सुरु गरेको छैन ।

प्राधिकरण नेतृत्व उच्च अदालतको आदेशलाई चुनौती दिँदै सर्वोच्चमा पुगेको छ ।
 

यादव प्राधिकरणका स्वतन्त्र कर्मचारी युनियनका अध्यक्षसमेत हुन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update