Public Pana
-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीनवटा ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारी भएको जानकारी दिएका छन् ।
 

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री किरातीले निगम आफैले आन्तरिक उडानका लागि तीन थान जहाज खरिद गर्न लागेको र उक्त जहाजले दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्ने बताए ।
हाल आन्तरिक उडानमा दुई थान ट्वीनअटर भएकाले सवै दुर्गममा उडान गर्न कठिन भएकाले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

मन्त्री किरातीले भैरहवा र पोखरगरि दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा आन्तरिक विमानस्थलको भरपूर सदुपयोगका लागि पहल भइरहेको उल्लेख गरे ।
उनले ३५ सालको पुरानो पर्यटन ऐनलाई संशोधन र परिमार्जन गरी समयसापेक्ष नयाँ ऐन ल्याउन मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।

 

बैठकमा सांसदहरुले दवावका भरमा आन्तरिक बिमानस्थल निर्माण भएपछि सञ्चालन गर्न नसक्नु राज्यको कमजोरी भएको धारणा राखेका थिए ।
 

त्यस्तै उनीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update