Public Pana
सभामुख र सभाको अध्यक्षता गरिरहेका व्यक्तिको पदीय हैसियत र दायित्व एउटै हुने : कानुन व्यवसायी

कोशीका मुख्यमन्त्री उद्धव थापाको विश्वासको मतसम्बन्धी विवादमा रिट निवेदकका कानुन व्यवसायीले सभामुख र सभाको अध्यक्षता गरिरहेका व्यक्तिको पदीय हैसियत र दायित्व एउटै हुने जिकिर गरेका छन् ।

भदौ ४ मा कोशी प्रदेश सभामा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्दा अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीले मत दिएका थिए ।

त्यसविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दिएको रिट निवेदनको तर्फबाट बहस गरेका कानुन व्यवसायीले सभाको अध्यक्षता गर्ने व्यक्तिको कानुनी हैसियत, अधिकार र दायित्व सभामुखकै जस्तो हुने बताएका हुन् ।
 

मुख्यमन्त्री थापा र सभाध्यक्ष गरेका मन्सुरीलगायत विपक्षीले आफ्नो लिखित जवाफमा सभाको अध्यक्षता गर्नेलाई सभामुख सरहको तटस्थताको बन्देज नलाग्ने दाबी गरेका थिए । मन्सुरीले सभाको अध्यक्षता गरे पनि आफूलाई पार्टीको ह्विप लाग्ने भएकाले विश्वासको मत दिएको दाबी गरेका थिए ।

सोमबार न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा कानुन व्यवसायीहरुले उक्त तर्कको प्रतिवाद गर्दै सभामुख र सभाको अध्यक्षता गर्ने व्यक्तिलाई समान बन्देज लाग्ने दाबी गरे ।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले प्रदेशसभामा कुनै प्रस्तावमाथि मत बराबर भएको अवस्थामा बाहेक अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने दाबी गरे ।

यसपटक पनि कार्कीले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको मान्न नमिल्ने भन्दै संविधानको धारा १६८(३) अनुसार प्रदेशसभामा सबैभन्दा बढी मत भएको दलको नेतालाई नै मुख्यमन्त्री नियुक्तिका लागि परमादेश माग गरेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update