Public Pana
डोल्पामा फेला पर्यो तिलिचोभन्दा अग्लो स्थानमा अर्को नयाँ ताल

डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा तिलिचो भन्दा पनि अग्लो स्थानमा ताल फेला परेको दाबी स्थानीय जनप्रतिनिधिले गरेका छन्। डोल्पोबुद्ध गाउँपालिका– ६ फालगाउँमा नयाँ ताल फेला परेको हो ।

स्थानीयमाझ कुन्ख्येन फालक नामले चिनिने यो ताल समुन्द्र सतहबाट ५ हजार १ सय ९० मिटर उचाइमा रहेको दाबी स्थानीय जनप्रतिनिधिले गरेका हुन् ।  

नेपालमा हालसम्म प्रमाणित सबैभन्दा उचाइमा रहेको ताल मनाङ जिल्लाको तिलिचो ताल हो । 

यो विश्वकै सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येमा पनि पर्छ । अन्नपुर्ण क्षेत्रभित्र पर्ने तिलिचो ताल समुद्र सतहबाट ४ हजार ९१९ मिटर उचाईमा छ। यस तालको लम्बाई ४ किलोमिटर छ। चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ ।

डोल्पाको फालगाउँमा भेटिएको ताल समुद्र सतहबाट ५ हजार १९० मिटर उचाइमा रहेको दाबी स्थानीय जनप्रतिनिधिले गरेका हुन्। उनीहरुको दाबी अनुसार यो ताल तिलिचोभन्दा २ सय ७१ मिटर बढी उचाइमा अवस्थित छ । 

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले डोल्पोबुद्ध गाउँपालिकाका जनप्रतिनिले  ५ हजार १ सय ९० मिटरको उचाइमा नयाँ ताल फेला परेको जानकारी आफूलाई पनि गराएको बताए । 

गुगलबाट म्यापिङ गर्दा उक्त तालको लम्बाइ पाँच सय ११ मिटर र चौडाइ तीन सय १३ मिटर देखाएको छ । 

नयाँ तालको रङ आकाशे निलो छ । प्राकृतिक हिसाबले पनि यो ताल अत्यन्तै मनमोहक र सुन्दर रहेको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update