Public Pana
प्रधानमन्त्रीको चीन भ्रमणका बेला मुख्य एजेन्डा 

आगामी असोज पहिलो साता हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा करिब दर्जन एजेन्डामा छलफल तयारी सरकारले गरेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले सोमबार सोलुखुम्बुमा पत्रकारहरुसँगको कुराकानी क्रममा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा कृषि विकासदेखि, उत्तरी नाका खोल्ने र सडक विस्तारसम्मका एजेन्डा तय गरिएको बताए । 

‘आगामी असोजमा प्रधानमन्त्रीको चीन भ्रमण हुँदैछ। त्यो भ्रमणमा कृषि विकाससम्बन्धी एजेन्डा पनि छन्’, उनले भने, ‘त्यसैगरी चीनका राष्ट्रपति सी चिनफिङ नेपालमा आएका बेला चीनले प्रतिवद्धता जनएका अनुदान राशिहरुका लागि प्राथमिकताका आधारमा योजना छुट्टाउने विषय पनि भ्रमणको एजेन्डामा छ ।’

उनले उत्तरतर्फ साना ठूला गरी दर्जनभन्दा बढी नाका रहेका बताउँदै तिनको नियमित सञ्चालनबारे पनि कुरा हुने बताए । 
‘चीनसँग जोडिएका हाम्रा नाकाहरु छन्। केही नियमित नाका छन्। ती नाकाबाट अहिले ब्यापार र आवातजावत भइरहेको छ। तर तिनलाई कोरोना महामारी अगाडिको अवस्थामा लगेर खोल्ने कुरा भएको छ’, उनले भने, ‘त्यस्तै सिजनल ८-१० नाकालाई पनि निश्चित समयसम्म खुल्ने बनाउँछौँ ।’

साउदले संखुवभासमाको किमाथांकासहितका चीनको सीमाक्षेत्रमा जलविद्युत् परियोजना अघि बढाउने कुरा पनि भ्रमणमा हुने बताए । 

‘चीनको सीमाक्षेत्रमा भएका हाइड्रो प्रोजेक्टमा चिनियाँ लगानी ल्याउने कुरा पनि एजेन्डामा छ।

रसुवागढी र किमाथांकाबाट ट्रान्समिसन लाइन निर्माणबारे पनि भ्रमणमा कुरा हुँदैछ’, उनले भने, ‘त्यसैगरी पूर्वदेखि पश्चिमसम्मको सडक निर्माणको कुरा पनि चीनमा हुनेछ। सेती करिडोर र हिल्सादेखि सुर्खेतसम्म सडक बनाउने कुरा पनि एजेन्डामा छ। नुवाकोट–छहरे टनेल बनाउने र कोदारी राजमार्गको अपग्रेड तथा पुनर्निर्माण गर्ने प्रस्ताव लैजाँदैछौँ ।’

उनले चीन भ्रमणका क्रममा स्वास्थ्य क्षेत्रमा पनि केही परियोजना पनि अगाडि बढाउन सम्झौता हुन सक्ने बताए । 
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update