Public Pana
रुकुम पश्चिममा दाजु–बहिनीको बाढीले बगाउँदा मृत्यु

रूकुम पश्चिममा विद्यालयबाट घर फर्किंदै गरेका एकै घरका दुई बालबालिकाको बाढीले बगाउँदा मृत्यु भएको छ । 
 

चौरजहारी नगरपालिका– ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको आइतबार साँझ स्थानीय म्याउला नामको ठाडो खहरे खोलाले बगाउँदा मृत्यु भएको हो । 
 

बाढीले बगाएपछि बेपत्ता भएका बालबालिकाको शव आइतबार राति नौ बजे घटनास्थलभन्दा केही तल फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी प्रमुख डीएसपी नवराज भट्टराईले जानकारी दिए । 
 

मनोजको शव घटनास्थलबाट १५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको उनले जानकारी दिए । 
 

उनीहरु आधारभूत विद्यालय घर्तिकाँडाबाट घर फर्किंने क्रममा घटना भएको प्रहरीले जनाएको छ।

दाजु मनोज कक्षा ३ र बहिनी भावना कक्षा १ मा अध्ययनरत थिए । 
 

अरुबेला पानी नहुने खहरे खोलामा बाढी आएको बेला दाजु बहिनीले तर्न खोज्दा घटना भएको हुनसक्ने डीएसपी भट्टराईले बताए । 
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update