Public Pana
ल्हारक्यालको बचाउँमा पर्यटनमन्त्री किराती 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त ल्हारक्याल लामा राष्ट्रिय सहमतिको मान्छे भएको टिप्पणी गरेका छन् ।

प्रेस सेन्टर मोरङले विराटनगरमा आज आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ल्हारक्याल खासमा विवादित व्यक्ति नभए पनि विवादित बनाइएको बताएका हुन् ।
‘ल्हारक्याल लामा त राष्ट्रिय सहमतिको मान्छे हो, ल्हारक्याल लामा खासमा विवादित मान्छे होइन, विवादित बनाइयो’, मन्त्री किरातीले भने, ‘नेपाली कांग्रेसको पालामा गुम्बा विकास समितिको अध्यक्ष चलाउनुभयो, नेकपा एमालेको पालामा त संविधानसभाको सदस्य र अर्थ राज्यमन्त्री पनि चलाउनुभयो, त्यही बेला अलिक विवादित हुनुभयो, तर अदालत र कुनै पनि संवैधानिक निकायले उहाँलाई दोषी प्रमाणित गर्न सकेन, संवैधानिक निकायले दोषी प्रमाणित गर्न नसकेपछि मान्छे सधैं अभियुक्त त रहदैन ।’

ल्हारक्याललाई योग्यता र क्षमताकै कारण लुम्बिनी विकास कोषमा नियुक्त गरेको मन्त्री किरातीले बताए ।
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update