Public Pana

नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सिनेटर क्रिस भान होलेनले नेपालको शान्तिप्रक्रियाका बिषयमा चासो व्यक्त गरेका छन् ।

आज आइतबार सिंहदरबारस्थीत एमाले संसदीय दलको कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गर्दै सिनेटर होलेनले नेपालको शान्तिप्रक्रिया कसरी अघि बढ्न र निष्कर्षमा पुग्छ भन्ने बिषयमा चासो राखेका थिए ।

त्यस्तै भेटवार्तामा दुईदेशीय सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा कुराकानी भएको थियो । भेटवार्तापछि सिनेटर होलेनले अमेरिका र नेपालका नागरिकबीचको सम्बन्ध सुदृढ गर्नेमा कुराकानी भएको बताए ।

त्यस्तै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले दुईदेशबीचको सम्बन्धको बिषयमा कुराकानी भएको र सिनेटरले नेपालको शान्तिप्रक्रियाका बारेमा जिज्ञासा राखेको जानकारी दिए ।

जवाफमा एमाले अध्यक्ष ओलीले अन्तराष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला र पीडितमैत्री हुने गरि शान्तिप्रक्रिया टुङ्गोमा पुग्ने बताउनुभएको नेम्वाङले बताए ।

भेटवार्तामा सिनेटरले एमसीसी कार्यान्वयनमा नेपाल अघि बढिरहेको अवस्थामा आफुहरु खुसी र सकारात्मक भएको बताएका थिए ।

अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन गत शुक्रबार नेपाल आएका हुन् ।
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update