Public Pana
परराष्ट्रमन्त्री साउदले नयाँ नक्सा सम्बन्धित देशलाई जानकारी गराएको आफूलाई थाहा नभएको प्रष्टोक्ती

परराष्ट्रमन्त्री एनपी साउदले विगतको सरकारले नेपालको नयाँ नक्सा जारी गरे पनि त्यो नक्साको जानकारी सम्बन्धित देशलाई औपचारिक जानकारी गराएको थाहा नभएको बताएका छन् ।

यद्यपि आफूहरु नेपालको नयाँ नक्साप्रति प्रतिबद्ध रहेको भन्दै उनले छिमेकीसँगको सीमा विवाद कूटनैतिक च्यानलबाट समाधान गर्ने पनि दाबी गरे ।

आज आइतबार ओखलढुंगाका पत्रकारहरुले चीनले हालै जारी गरेको आफ्नो नक्सामा नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा सरकारको धारणाबारे राखेको जिज्ञासामा मन्त्री साउदले उक्त कुरा बताएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको चुच्चे नक्सा जारी गरेका थिए । मन्त्री साउदले भने विगतमा काम गर्दै जाँदा ढंग नपुगेको बताए । ‘कहिलेकाहीँ काम गर्दै जाँदाखेरि ढंग नपुगेको जस्तो पनि पटक–पटक देखिने ग-या छ,’ उनले भने, ‘विशेष गरी नक्सा पास गरिसकेपछि त्यो नक्सा प्रपर च्यानलबाट सम्बन्धित देशहरूमा गयो कि गएन भन्ने बारेमा अहिले पनि मैले मन्त्रालयमा बुझ्दाखेरि गइसकेको भन्ने ठोस जानकारी मैले पाएको छैन ।’

उनले थपे, ‘बाहिर चाहिँ त्यो बेलाको जिम्मेवारीमा रहेका महत्त्वपूर्ण साथीहरूले हामीले नक्सा पठायौँ भन्ने किसिमको जानकारी गराएको भए पनि सम्बन्धित देशलाई त्यो नोट गइसकेको या नगइसकेको भन्नेबारेमा मैले सम्बन्धित आफ्नो मन्त्रालयको सम्बन्धित महाशाखामा बुझ्दाखेरि त्यस्तो नोट गएको जसे जानकारी प्राप्त भएको छैन ।’

यद्यपि आफूहरु नेपालको नयाँ नक्साप्रति प्रतिबद्ध रहेको परराष्ट्रमन्त्री साउदले दाबी गरे ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update