Public Pana
सशस्त्र प्रहरी सहित २ जनाको मृत्यु –  पेप्सिकोला दुर्घटना

काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकअन्तर्गत पेप्सिकोला छाप्रो भन्ने स्थानमा आज आइतबार भएको सवारी दुर्घटनामा घाइते भएकी सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा सशस्त्र प्रहरी बल  नम्बर २० विपद् उद्धार उपत्यका गण (सिनामंगल) मा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापाको निधन भएको हो । 

योसँगै उक्त दुर्घटनामा मृत्यु भएकाको संख्या २ पुगेको छ। यसअघि दुर्घटनामा सर्लाही घर भएका २८ वर्षीय राज भट्टराईको मृत्यु भइसकेको छ । 

यस्तै दुर्घटनामा घाइते सशस्त्र प्रहरीकै जवान स्वस्थानी खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

आज बिहान साढे ७ बजे बा ३ ख ४१४८ नम्बरको बसले पेप्सीकोला छाप्रो भन्ने स्थानमा बा ६ च ५३४२ नम्बरको पिकअप, बा. प्र–०२–०३७ प ४३११ नम्बरको स्कुटर र बा. प्र–०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकललाई एकसाथ ठक्कर दिएको हो । 

दुर्घटनामा अन्य तीन जना पनि घाइते भएका छन् । 

प्रहरीका अनुसार दुर्घटनामा दोलखा भीमेश्वर नगरपालिका घर भई हाल इमाडोल बस्ने वर्ष ५२ का कुमारबहादुर खाती, उदयपुर गाईघाट घर भई हाल काँडाघारी बस्ने वर्ष २३ की कल्पना विक र मकवानपुर घर भई हाल पेप्सीकोला बस्ने वर्ष १९ की रमिता प्रजा सामान्य घाइते भएका हुन् ।

घाइतेहरूको उपचार वीर र सिभिल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update